अमेरिका तालिबानबाट बगराम एयरफिल्ड फिर्ता ल्याउने प्रयासमा:ट्रम्प

लन्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो प्रशासन अफगानिस्तानस्थित पूर्व अमेरिकी बगराम एयरफिल्ड तालिबानबाट फिर्ता ल्याउने प्रयासमा रहेको बताएका छन्। उनले यसलाई रणनीतिक महत्वको विषयको रूपमा प्रस्तुत गरेका छन्।

बेलायती प्रधानमन्त्री किअर स्टार्मरसँग उभिएर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सन् २०२१ मा राष्ट्रपति जो बाइडेनको नेतृत्वमा भएको अमेरिकी फौजको अफगानिस्तानबाटको फिर्तीलाई गल्ती भएको भन्दै आलोचना गरे। “हामी त्यसलाई फिर्ता ल्याउने प्रयासमा छौं, किनभने उनीहरूलाई हामीसँग केही आवश्यक छ,” उनले भने, तर तालिबानलाई के चाहिएको हो भन्नेबारे स्पष्ट पारेनन्।

ट्रम्पले बगराम एयरफिल्डको रणनीतिक महत्वलाई जोड दिँदै भने, “यो चीनले आफ्नो आणविक हतियार उत्पादन गर्ने स्थानभन्दा एक घण्टाको दूरीमा छ।”

उनको टिप्पणी त्यस्तो समयमा आएको हो, जब तालिबानले मानवअधिकार उल्लंघनका कारण अन्तर्राष्ट्रिय स्तरमा एक्लिनु परेपछि अमेरिकासँग सम्बन्ध सामान्यीकरण गर्ने इच्छा देखाएको भनिएको छ।

तालिबानका अनुसार हालै उनका परराष्ट्रमन्त्री आमिर खान मुत्ताकी र अमेरिकी दूत आदम बोहलर तथा जलमय खलीलजादबीच भएको भेटवार्तामा दुई देशबीच द्विपक्षीय सम्बन्ध विकास, नागरिकसम्बन्धी विषय र अफगानिस्तानमा लगानीका अवसरबारे छलफल भएको थियो। औपचारिक सम्झौता नभए पनि यी वार्ताले गहिरो राजनीतिक र मानवअधिकार विवादबीच पनि सतर्क संवादको संकेत दिएको छ।

विनाशकारी भूकम्पपछि अन्तर्राष्ट्रिय सहयोगका लागि तालिबानको आग्रह

पश्चिमी समर्थित सरकारको पतन पछि सत्तामा पुगेको तालिवानले अफगानिस्तानमा गएको विनाशकारी भूकम्पपछि अन्तर्राष्ट्रिय सहयोगको लागि अपील गरेको छ।

तालिबानका एक वरिष्ठ अधिकारी अब्दुल काहर बल्खीले,अफगानिस्तान मानवीय र आर्थिक संकटको बीचमा रहेको र सरकार आवश्यकता अनुसार जनतालाई आर्थिक रूपमा सहयोग गर्न असमर्थ भएकोले अन्तराष्ट्रिय सहयोगको लागि अपिल गरेका छन्।

भूकम्पको कारण हालसम्म त्यहाँ १,००० भन्दा बढीको मृत्यु भएको र १,५०० भन्दा बढी मानिस घाइते भएका छन्। घर र भौतिक संरचनाहरु ध्वस्त भएका छन्। भारी वर्षा र स्रोतको अभावका कारण उद्धार कार्यमा बाधा पुगेको छ ।उद्धारकर्ताहरूका अनुसार मृतकको संख्या थप बढ्ने सक्ने अनुमान गरिएको छ।

खोस्ट सहरबाट ४४ किलोमिटर टाढा गएको भूकम्पको धक्का पाकिस्तान र भारतसम्म पनि महसुस गरिएको थियो।