सहकारी ठगी मुद्दामा जिबी राईविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं – सहकारी ठगीको आरोपमा फरार रहेका जिबी राईलाई पक्राउ गर्न इन्टरपोलको सहयोग माग गर्दै डिफ्युजन नोटिस जारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले यसअघि सूर्यदर्शन सहकारीमा भएको ठगी मुद्दामा डिफ्युजन नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालयलाई अनुरोध गरेको थियो । जवाफमा इन्टरपोलको राष्ट्रिय केन्द्रीय ब्यूरो काठमाडौंले सूचना जारी गर्न इन्टरपोलका महासचिवलाई अनुरोध गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए ।

सहकारीका निक्षेपकर्ताको रकम हिनामिना गरेको अभियोगमा कास्की जिल्ला अदालतले कोषाध्यक्ष कुमार रामटेललाई थुनामा राख्न आदेश दिएको थियो । सोही घटनामा उपाध्यक्ष कैलाशकुमार दरलामी, सदस्य शिवबहादुर गुरुङ र भागीश्वर अर्याललाई पनि पक्राउ गरी हाल हिरासतमा राखेर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिबी राईसहित १९ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । तीमध्ये १५ जना अहिले फरार छन्।

उजुरीमा सूर्यदर्शनका कर्मचारीले निक्षेपकर्ताको १ अर्ब १२ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । सहकारी ऐन अन्तर्गत उनीहरुलाई ८ देखि १० वर्षसम्म जेल सजाय र जरिवाना हुनसक्नेछ ।

जिबी राई समूहले नक्कली शेयरधनी र विभिन्न कम्पनी बनाएर सूर्यदर्शनको रकम हिनामिना गरेको प्रहरीको प्रतिवेदनले देखाएको छ । सहकारीका सञ्चालक तथा पदाधिकारीले नक्कली शेयर सदस्य खाता खोलेर सहकारी वा व्यक्तिको नाममा सम्पत्ति नराखी रकम दुरुपयोग गरेको प्रहरीको निष्कर्ष छ ।

ढोरपाटनका मेयर नेपालीलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी

बागलुङ — बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकहरुको ३५ करोड गरी करिब २ अर्ब रुपैयाँ हिनामिना गरी बेपत्ता रहेका बागलुङको ढोरपाटनका मेयर समेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न प्रहरीले ‘रेड कर्नर नोटिस’ जारी गरेको छ ।

सहकारीको रकम हिनामिनामा नेपाली र उनकी श्रीमतीसहित ८ जनाविरुद्ध मुद्दा चलिरहेको छ । तर अध्यक्ष नेपाली भने गत बैशाखदेखि नै फरार छन् । उनै नेपाली र उनकी श्रीमती छेला नेपालीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले संसारभरका प्रहरीहरुको अन्तरराष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल)मार्फत् ‘रेड कर्नर नोटिस’ जारी गरेको हो ।

अध्यक्ष नेपाली विदेशमा लुकेर बसेको आशंका भएको भन्दै सहकारीका पीडितहरुले रेड कर्नर नोटिस जारी गर्नुपर्ने माग गरेका थिए । बागलुङका डिएसपी मदन केसीले नेपाली दम्पत्तीलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको बताए । ‘अब उनी कुन देशमा छन् भन्ने थाहा भयो भने त्यही देशको प्रहरीले खोजी गरेर नेपाललाई सुर्पुदगी गर्छ,’ डिएसपी केसीले भने, ‘उनको लोकेसन ट्रयाक गर्नुपर्ने आवस्यक छ ।’

उनीहरुविरुद्ध १ हजार ५ सय ५० जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेका छन् । उनीहरुविरुद्ध अदालतले जेठमै पक्राउ पुर्जी जारी गरेको थियो । तर उनीहरु भने बैसाख ६ गतेदेखि नै तरलता अभावले बन्द भएको भन्दै सूचना टाँसेर फरार भएका थिए ।

सहकारीका बचतकर्ताको १ अर्ब ६० करोड रुपैयाँ नेपालीले हिनामिना गरेका छन् । त्यस बाहेक नेपालीले ग्लोबल आइएमई बैक, राष्ट्रिय सहकारी बैंक र गरिमा बिकास बैंकको गरी झण्डै ३५ करोड ऋण समेत लिएको देखिएको छ ।

मुद्दाकै आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् ।

उनीहरुलाई जिल्ला अदालत बागलुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षकालागि थुनामा पठाएको छ । पक्राउ परेका ५ जनाले अदालतमा सहकारीमा आफूहरुको कुनै हात नभएको बयान दिएका छन् । संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई समेत प्रहरीले बिहीबार ललितपुरबाट पक्राउ गरेको छ ।

गत वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरेपछि अहिलेसम्म खुलेको छैन । नियमित बचतमार्फत दैनिक कमाइ जम्मा गरेका सयौंको रकम सो सहकारीमा डुबेको छ ।