सहकारी ठगी मुद्दामा जिबी राईविरुद्ध डिफ्युजन नोटिस जारी

  • नेपाल राष्ट्रिय दैनिक
  • January 28, 2024
gb rai

काठमाडौं – सहकारी ठगीको आरोपमा फरार रहेका जिबी राईलाई पक्राउ गर्न इन्टरपोलको सहयोग माग गर्दै डिफ्युजन नोटिस जारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले यसअघि सूर्यदर्शन सहकारीमा भएको ठगी मुद्दामा डिफ्युजन नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालयलाई अनुरोध गरेको थियो । जवाफमा इन्टरपोलको राष्ट्रिय केन्द्रीय ब्यूरो काठमाडौंले सूचना जारी गर्न इन्टरपोलका महासचिवलाई अनुरोध गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए ।

सहकारीका निक्षेपकर्ताको रकम हिनामिना गरेको अभियोगमा कास्की जिल्ला अदालतले कोषाध्यक्ष कुमार रामटेललाई थुनामा राख्न आदेश दिएको थियो । सोही घटनामा उपाध्यक्ष कैलाशकुमार दरलामी, सदस्य शिवबहादुर गुरुङ र भागीश्वर अर्याललाई पनि पक्राउ गरी हाल हिरासतमा राखेर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिबी राईसहित १९ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । तीमध्ये १५ जना अहिले फरार छन्।

उजुरीमा सूर्यदर्शनका कर्मचारीले निक्षेपकर्ताको १ अर्ब १२ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । सहकारी ऐन अन्तर्गत उनीहरुलाई ८ देखि १० वर्षसम्म जेल सजाय र जरिवाना हुनसक्नेछ ।

जिबी राई समूहले नक्कली शेयरधनी र विभिन्न कम्पनी बनाएर सूर्यदर्शनको रकम हिनामिना गरेको प्रहरीको प्रतिवेदनले देखाएको छ । सहकारीका सञ्चालक तथा पदाधिकारीले नक्कली शेयर सदस्य खाता खोलेर सहकारी वा व्यक्तिको नाममा सम्पत्ति नराखी रकम दुरुपयोग गरेको प्रहरीको निष्कर्ष छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५