ढोरपाटनका मेयर नेपालीलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी

  • नेपाल राष्ट्रिय दैनिक
  • १२ माघ २०८०, शुक्रबार १३:४८
dhorpatan mayor dev kumar nepali

बागलुङ — बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकहरुको ३५ करोड गरी करिब २ अर्ब रुपैयाँ हिनामिना गरी बेपत्ता रहेका बागलुङको ढोरपाटनका मेयर समेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न प्रहरीले ‘रेड कर्नर नोटिस’ जारी गरेको छ ।

सहकारीको रकम हिनामिनामा नेपाली र उनकी श्रीमतीसहित ८ जनाविरुद्ध मुद्दा चलिरहेको छ । तर अध्यक्ष नेपाली भने गत बैशाखदेखि नै फरार छन् । उनै नेपाली र उनकी श्रीमती छेला नेपालीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले संसारभरका प्रहरीहरुको अन्तरराष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल)मार्फत् ‘रेड कर्नर नोटिस’ जारी गरेको हो ।

अध्यक्ष नेपाली विदेशमा लुकेर बसेको आशंका भएको भन्दै सहकारीका पीडितहरुले रेड कर्नर नोटिस जारी गर्नुपर्ने माग गरेका थिए । बागलुङका डिएसपी मदन केसीले नेपाली दम्पत्तीलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको बताए । ‘अब उनी कुन देशमा छन् भन्ने थाहा भयो भने त्यही देशको प्रहरीले खोजी गरेर नेपाललाई सुर्पुदगी गर्छ,’ डिएसपी केसीले भने, ‘उनको लोकेसन ट्रयाक गर्नुपर्ने आवस्यक छ ।’

उनीहरुविरुद्ध १ हजार ५ सय ५० जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेका छन् । उनीहरुविरुद्ध अदालतले जेठमै पक्राउ पुर्जी जारी गरेको थियो । तर उनीहरु भने बैसाख ६ गतेदेखि नै तरलता अभावले बन्द भएको भन्दै सूचना टाँसेर फरार भएका थिए ।

सहकारीका बचतकर्ताको १ अर्ब ६० करोड रुपैयाँ नेपालीले हिनामिना गरेका छन् । त्यस बाहेक नेपालीले ग्लोबल आइएमई बैक, राष्ट्रिय सहकारी बैंक र गरिमा बिकास बैंकको गरी झण्डै ३५ करोड ऋण समेत लिएको देखिएको छ ।

मुद्दाकै आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् ।

उनीहरुलाई जिल्ला अदालत बागलुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षकालागि थुनामा पठाएको छ । पक्राउ परेका ५ जनाले अदालतमा सहकारीमा आफूहरुको कुनै हात नभएको बयान दिएका छन् । संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई समेत प्रहरीले बिहीबार ललितपुरबाट पक्राउ गरेको छ ।

गत वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरेपछि अहिलेसम्म खुलेको छैन । नियमित बचतमार्फत दैनिक कमाइ जम्मा गरेका सयौंको रकम सो सहकारीमा डुबेको छ ।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५