संसद भवनस्थित वाणिज्य बैंकको शाखाबाट ३८ करोड बराबरको सुन र नगद लुटपाट

काठमाडौँ – भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट करिब ३८ करोड रुपैयाँ बराबरको लुटपाट भएको खुलेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले घटनाबारे जानकारी दिँदै ५ करोड नगद र १८ किलो सुन चोरी भएको पुष्टि गरेका छन्।

उनका अनुसार संसद् भवनस्थित शाखामा ‘गम्भीर चोरी’ भएको हो। गभर्नर पौडेलले प्रदर्शन साम्य भएपछि २६ गते स्वयं शाखाको अनुगमन गरेका थिए। प्रारम्भिक अनुसन्धानमा शाखाको लकर तोडफोड गरी नगद र सुन लुटिएको देखिएको छ।

हालसम्म संलग्न व्यक्तिहरु पक्राउ परेका छैनन्। राष्ट्र बैंक र प्रहरीले सीसीटीभी फुटेजको आधारमा संलग्नको पहिचान र अनुसन्धान अघि बढाइरहेका छन्। गभर्नरका भनाइअनुसार प्रदर्शनको उद्देश्य बैंक लुट्नु नभए पनि संसद् भवन नजिक भएको कारण बैंक शाखा निशानामा परेको हो।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले घटनाबारेको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन् । उनले छिट्टै लुटपाट र क्षतिको आधिकारिक विवरण सार्वजनिक गरिने जानकारी दिए।

बैंकर्स एसोसिएसन र नेपाल राष्ट्र बैंकले प्रारम्भिक विवरण अनुसार देशभर ६८ वटा बैंक शाखा र ६९ वटा एटीएममा क्षति पुगेको जनाइसकेका छन्। यद्यपि, संसद् भवनस्थित शाखामा मात्र ठूलो परिमाणको नगद र सुन चोरी भएको पुष्टि भएको छ।

नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबीच मर्जर सम्बन्धमा कार्यदल गठन

अर्थ मन्त्रालयले नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबीच मर्जर सम्बन्धमा अध्ययन गर्न एक कार्यदल गठन गरेको छ ।

राष्ट्र बैंकले बैंकिङ्ग सुरक्षाका लागि निजी क्षेत्रको बैंककै अधिकतम चुक्ता पुँजी बढाउनुपर्ने र कम चुक्ता पुंजी भएका निजि बैंकहरुलाई पुंजी बढाउन वा मर्जरमा जान निर्देशन दिएपछि निजि बैंकहरु धमाधम मर्जरमा गइरहेका बेला, सरकारले दुई सरकारी बैंक नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबीच पनि मर्जरको प्रक्रिया अगाडी बढाएको हो।

मर्जर सम्बन्धि कार्यदलको संयोजकमा मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख भुपाल बराललाई तोकिएको छ।

हाल, नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड रहेको छ । नेपाल बैंकले आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा २२९ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ भने १७३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ।

नेपाल बैंकले चैत मसान्तसम्ममा १ अर्ब ७८ करोड २३ लाख रुपैयाँ नाफा गरेको गत वर्ष सोही अवधिमा भने बैंकले २ अर्ब १९ करोडको नाफा गरेको छ। बैंकको खराब कर्जा भने ४.१६ प्रतिशत रहेको छ । नाफा खुम्चिँदा बैंकको वितरणयोग्य नाफा समेत घटेको छ । चैत मसान्तमा बैंकको वितरणयोग्य नाफा १८ करोडमा सीमित भएको छ । गत वर्ष यसै अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७० करोड रुपैयाँ थियो।

यता,राष्ट्रिय वाणिज्य बैंकले भने चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा ३ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्ष सोही अवधिमा बैंक २ अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको थियो । चैत मसान्तसम्ममा बैंकले ३०२ अर्ब निक्षेप संकलन गरी २२५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकका खराब कर्जा ३.८८ प्रतिशत रहेको छ।