फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगको सोमबार बसेको बैठकले यस सम्बन्धी कार्यतालिका पारित गरेको हो।

स्वीकृत कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ गतेदेखि १० गतेसम्म हुनेछ। प्रत्यक्षका लागि माघ २ गते बाट निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ।

निर्वाचन प्रचार-प्रसार अवधि फागुन ३ गतेदेखि १८ गतेसम्म रहनेछ र त्यसपछि मौन अवधि सुरु हुनेछ।

मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। दुवै निर्वाचन प्रणालीका मतपेटिका संकलन भएपछि मतगणना सुरु गरिने आयोगले जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ भने दलहरूले आफ्नो बन्द सूची पुस १८ र १९ गते सम्म पेश गर्नुपर्नेछ।

आयोगले स्वीकृत कार्यतालिकाअनुसार राजनीतिक दल र सरोकारवालासँग नियमित परामर्श र समन्वय गर्ने बताएको छ।

आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ता मंसिर १ देखि १० गतेभित्र गर्नुपर्नेछ र त्यस अवधिभन्दा अघि नै कात्तिक ३० गतेसम्म दर्ता प्रमाणपत्र प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ। यस अवधिभित्र दर्ता भएका दलहरू मात्र आगामी निर्वाचनमा भाग लिन योग्य हुने आयोगले स्पष्ट पारेको छ।