गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

वैशाख ९- पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने सम्बन्धी विषयलाई कार्यसूचीमा राखिदिन पत्र पठाएको र सचिवालयले सोहि अनुसार तयारी गरेको प्रदेशसभा सचिवालय जनाएको छ।

माओवादी केन्द्रले चैत १० गते आफ्नो समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरु फिर्ता बोलाएपछि एमाले नेताअधिकारी अल्पमतमा परेका हुन्।एमाले संसदीय दलका नेता अधिकारी माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भइ पुस २९ मा विश्वासको मत समेत लिएका थिए ।त्यतिबेला उनलाई ३१ सांसदले विश्वाशको मत दिएका थिए।

संवैधानिक व्यवस्था अनुसार सत्ताधारी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत लिनुपर्छ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन्।

पोखराको मेयर दाबी गर्दै कांग्रेसको प्रतिनिधिमण्डल काठमाडौंमा

एकीकृत समाजवादीले सत्तारुढ गठबन्धनमा पोखरा महानगरपालिकाको मेयर दाबी गरेपछि नेपाली काँग्रेस र कास्कीका नेताहरु सहितको एक प्रतिनिधिमण्डल आज काठमाडौं आएका छन् ।

प्रतिनिधिमण्डलका लागि पूर्वमन्त्री यज्ञबहादुर थापाको नेतृत्वमा जिल्ला नेताहरु काठमाडौं आइपुगेका हुन् । पोखराको मेयर पद नछाड्ने अडान लिएर काठमाडौं आइपुगेका उनीहरुले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुसँग भेट गरेर मेयर नछाड्ने गरि गठबन्धन गर्न सुझाव दिने बताएका छन् ।

पोखरामा आफुहरुले जित्ने भन्दै केन्द्रिय नेतालाई भेटेर दवाव दिन प्रतिनिधिमण्डल काठमाडौँ आएको हो। पोखरामा गठबन्धन भएर मेयर काँग्रेसले नपाए गठबन्धनका अरु कुनै पनि दलले हार्नसक्ने पनि उनीहरुले बताएका छन्।

यता, सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका नेताहरूले कांग्रेसलाई तीन महानगर र गठबन्धनमा रहेका अन्य दललाई तीन ठाउँ छोड्ने प्रस्ताव गरेका छन् । कांग्रेसले काठमाडौं, विराटनगर र ललितपुर, भरतपुर माओवादी, वीरगन्ज जसपा र पोखरा एकीकृत समाजवादीले लिने प्रस्ताव राखेका छन् ।

गत निर्वाचनमा पोखरा महानगरपालिकामा एमालेका उम्मेदवार मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याएर विजयी भएका थिए । कांग्रेस उम्मेदवार रामजी कुँवर ४६ हजार ४१६ मतले पराजित भएका हुन् ।