निउरोड फुटपाथ विस्तारको विरोधमा स्थानीयको प्रदर्शन

काठमाडौं – काठमाडौं महानगरपालिकाले सुरु गरेको न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काममा स्थानीयले पुनः अवरोध सुरु गरेका छन् । स्थानीयहरु फुटपाथ विस्तारको विरोधमा उत्रिएपछि अहिले उक्त क्षेत्रमा नेपाल प्रहरी र नगरप्रहरीहरुलाई तैनाथ गरिएको छ ।

यसअघी महानगरको फुटपाथ विस्तारको काममा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेपछि, सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । उक्त रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको आदेश संगै महानगरले बुधबार बाट पुन फुटपाथ विस्तारको काम सुरु गरेको थियो। तर स्थानीयले महानगरको फुटपाथ विस्तारको कामको विरोध गर्दै प्रदर्शन गरेका छन् भने, सो क्षेत्रमा सुरक्षाको लागि प्रहरी परिचालन गरिएको छ।

न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु

काठमाडौं -उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ ।

यसअघि काठमाडौं महानगरपालिकाले सुरु गरेको काममा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले सुरु गरेको फुटपाथ विस्तारको काम रोकिएको थियो।

सडक डिभिजन कार्यालयको हस्तक्षेप लगत्तै काठमाडौँ महानगरपालिकाले उच्च अदालत पाटनमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोड क्षेत्रको फुटपाथ विस्तार रोक्ने गरी सडक डिभिजन कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न आदेश दिएपछि महानगरपालिकाले पुन: फुटपाथ विस्तारको कामलाई अगाडी बढाएको छ।