सरकारले रकम उपलब्ध नगराउँदा अस्पतालको डायलाइसिस सेवा बन्द

सरकारबाट पाउनु पर्ने रकम नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजले बिरामीलाई अत्यावश्यक पर्ने डायलाइसिस सेवा बन्द गरेको छ ।

स्वास्थ्य मन्त्रालयले १४ महिनादेखिको करिब २ करोड रुपैयाँ नपठाएपछि सेवा बन्द गर्नुपरेको अस्पतालले जनाएको छ। दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस गर्दै आएको नेपालगञ्ज मेडिकल कलेजले सेवा बन्द गर्दा बिरामीहरु मर्कामा परेका छन्।

बिरामीले डायलाइसिस गराउंदा २५ सय रुपैयाँको दरले निःशुल्क सेवा पाउँछन् र सो रकम सरकारले अस्पताललाई उपलब्ध गराउनु पर्छ । तर सरकारले समयमा रकम उपलब्ध नगराउंदा आवश्यक समान खरिद गरेर उपचार अगाडी बढाउन नसकेको कारण बिरामीहरु सेवाबाट वन्चित भएको अस्पतालले जनाएको छ ।यधपी एक हप्तालाई पुग्ने सामान मगाएर आज साँझबाट सेवा सुरु गर्ने अस्पतालले जनाएको छ।

स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने क्रममा प्रहरी हस्तक्षेप

बाँके जिल्लाको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) मा स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने क्रममा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि प्रहरी र स्थानियहरुबीच झडप भएको छ ।

२०६२/६३ को जनआन्दोलनमा चोकमा रहेको स्वर्गीय राजा वीरेन्द्रको सालिक तोडफोड भएको थियो । लामो समयसम्म राष्ट्रिय झण्डा मात्र राखिएको सो स्थानमा आज दरबार हत्याकाण्ड भएको दिनको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरुले वीरेन्द्रको सालिक पुनःस्थापना गरेका थिए।

सालिक राखेको घटना प्रति प्रहरीले हस्तक्षेप गरेर सालिक निकालेपछि प्रहरी र स्थानीयहरूबीच झडप सुरु भएको हो। झडप भएपछी स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेको छ ।दुई पक्षबीच झडप हुँदा केही युवा घाइतेसमेत भएको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभएको छ।
यसअघि नेपालगन्जको त्रिभुवन चोकमा पनि सोही समुहले पूर्व राजा त्रिभुवनको सालिक राखेको थियो । प्रहरी र प्रशासनले उक्त सालिक हटाउने प्रयास गरे पनि सर्वसाधारणले चर्को विरोध गरेपछि प्रशासन पछाडी हटेको थियो ।