चिकित्सा शिक्षा आयोगद्वारा पीसीएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा प्रस्तुत अनुगमन र मूल्याङ्कनसहितको प्रतिवेदनका आधारमा सिट निर्धारण भएको हो। हालः उक्त आङ्गिक, गैरनाफामूलक र निजी गरी दुई सय ८५ शिक्षण संस्थालाई सिट निर्धारण गरिएको छ। बैठकमा मेडिकल कलेजहरूलाई पनि पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति दिन कानुनी सहजीकरणका विषयमा पनि छलफल भएको थियो।

चिकित्सा शिक्षाको स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा तयार गर्न तथा आगामी शैक्षिक सत्रका लागि शिक्षण शुल्क निर्धारण सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदन टेबल भएको छ। कार्यदलले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई बुझाएको सो प्रतिवेदन अध्ययन गरी कार्यान्वयनको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्ष प्राडा. अञ्जनीकुमार झालाई हस्तान्तरण गरे।

बैठकले आयोगको आगामी आर्थिक वर्षको आन्तरिक स्रोततर्फको कार्यक्रम र बजेट स्वीकृत गरेको छ। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा ऐन, २०५७ लाई सामयिक संशोधनको गृहकार्य गर्न र आयोगलाई वास्तविक कार्यक्षेत्रमा सीमित गरी प्रभावकारी बनाउन निर्देशन दिए। उनले शिक्षा क्षेत्रको नियोजन नभई गुणस्तरीयता कायम गर्दै विस्तार र सहजीकरणमा जानुपर्ने बताए।

एमबीबीएस उत्तीर्ण गरेका ५६ प्रतिशत मात्र एनएमसी लाइसेन्स परीक्षामा पास

काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले सञ्चालन गरेको लाइसेन्स परीक्षामा एमबीबीएस उत्तीर्ण गरेका ५६ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

एनएमसीले सञ्चालन गरेको ६८औँ लाइसेन्स परीक्षा अन्तर्गत मेडिकलमा ५५.९६ प्रतिशत र डेन्टलमा ६१.०५ प्रतिशत सहित कुल ५६ दशमलव ६८ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएको जनाएको छ।

परीक्षामा मेडिकलतर्फ कुल १ हजार ७३७ र डेन्टलतर्फ २ हजार २ सय ८५ परीक्षार्थी सहभागी रहेका थिए । गत वर्ष भएको ६७ औं लाइसेन्स परीक्षामा ४६ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका थिए ।

परीक्षाको नतिजाबाट सन्तुष्ट नहुने परीक्षार्थीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो नाम र रोल नम्बर स्पष्ट रूपमा उल्लेख गरी एनएमसीको इमेलमा पुन: दर्ताका लागि आवेदन दिन सकिने र त्यस्ता उम्मेदवारहरूले १,५०० रुपैयाँ शुल्क तिर्नुपर्ने एनएमसीले जनाएको छ ।

परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र दर्ता प्रमाणपत्र प्राप्त गर्न अनलाइन आवेदन दिनुपर्नेछ। आवेदन दिएको मितिले १५ दिनपछि प्रमाणपत्र तयार गर्ने एनएमसीले जनाएको छ ।

परीक्षामा सामेल हुँदा बायोमेट्रिक हाजिरी, फोटो जाँच, हस्ताक्षर परीक्षण र सङ्कलन प्रमाणपत्र पेश गर्नुपर्ने भएकाले प्रमाणपत्र लिन सम्बन्धित परीक्षार्थी उपस्थित हुनुपर्ने एनएमसीले जनाएको छ ।