क्यान्सरविरुद्धको नयाँ खोपको परीक्षणमा उत्साहजनक नतिजा

मस्को- रूसले विकास गरेको नयाँ क्यान्सर खोपले तीन वर्षको प्रारम्भिक परीक्षणमा उत्साहजनक नतिजा देखाएको छ र अब क्लिनिकल प्रयोगका लागि स्वीकृतिको प्रतीक्षामा छ।

संघीय जैव–चिकित्सा एजेन्सीकी प्रमुख भेरोनिका स्क्भोर्त्सोभाका अनुसार यो खोप सुरक्षित र अत्यन्तै प्रभावकारी प्रमाणित भएको छ। परीक्षणमा ट्युमरको आकार घट्ने, वृद्धि ढिलो हुने र बिरामीको जीवन दरमा सुधार हुने देखिएको छ। केही प्रकारका क्यान्सरमा यसको प्रभावकारिता ६० देखि ८० प्रतिशतसम्म पुगेको बताइएको छ।

उनका अनुसार स्वास्थ्य मन्त्रालयमा आवश्यक कागजात बुझाइसकिएको छ र प्रारम्भिक रुपमा यो खोप कोलोरेक्टल क्यान्सरका लागि प्रयोगमा ल्याइनेछ। पछि ग्लिओब्लास्टोमा र मेलानोमा क्यान्सरका लागि पनि उपलब्ध गराइनेछ।

यो खोप गामालेया अनुसन्धान संस्थाले विकास गरेको हो। एमआरएनए प्रविधिमा आधारित खोपले कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत बिरामीको प्रतिरक्षा प्रणालीलाई क्यान्सर कोषिका विरुद्ध लड्न सिकाउँछ। यही संस्थाले अघिल्लो स्पुतनिक भी कोभिड–१९ खोप विकास गरेको थियो र अहिले सोही प्रविधि प्रयोग गरेर एचआईभी खोप पनि विकास गरिरहेको छ।

रुसमा क्यान्सर खोपको परीक्षण सुरु हुने तयारी

रुसले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर विकास गरिएको व्यक्तिगत क्यान्सर खोपको परीक्षण केही महिनाभित्र सुरु गर्ने तयारी गरेको छ। गामालेया अनुसन्धान केन्द्रका निर्देशक अलेक्जेन्डर गिन्ट्सबर्गका अनुसार यो mRNA-आधारित खोप बिरामीको अनुवांशिक डाटाका आधारमा विशेष रूपमा तयार गरिन्छ।

यो खोप सुरुवातमा मेलानोमा (छाला क्यान्सर) का बिरामीहरूमा परीक्षण गरिनेछ। गामालेया केन्द्रले खोप उत्पादन गर्नेछ भने परीक्षण कार्य मस्कोस्थित हर्टसेन अनुसन्धान केन्द्र र ब्लोखिन क्यान्सर सेन्टरले गर्नेछन्।

खोप बिरामीको शरीरमा ट्युमरसम्बन्धी प्रोटिन चिन्न सिकाएर क्यान्सर सेलहरू नष्ट गर्न प्रतिरक्षा प्रणालीलाई तालिम दिनेगरी बनाइएको हो।

अनुकूलित प्रकृतिका कारण यो खोपलाई रुस सरकारले हालै लागू गरेको नयाँ नियमअन्तर्गत परीक्षण गरिनेछ। प्रारम्भिक जनावर परीक्षण र केही मानव परीक्षणमा उत्साहजनक परिणाम देखिएको जनाइएको छ।

यदि प्रभावकारी सावित भयो भने यो खोपले रुसको सार्वजनिक स्वास्थ्य रणनीतिमा ठूलो फड्को मार्न सक्छ। यसप्रति विदेशी चिकित्सा संस्थाहरूले पनि चासो देखाएका छन्।