रुस र युक्रेनबीच हालसम्मकै सबैभन्दा ठूलो संख्यामा कैदीबन्दी साटफेर

रुस र युक्रेनले युद्ध सुरुभएयता हालसम्मकै सबैभन्दा ठुलो संख्यामा कैदीबन्दी साटफेर गरेका छन्।

कैदी साटफेर अन्तर्गत १९५ रुसी सैनिक युक्रेनी नियन्त्रित क्षेत्रबाट घर फर्किएका छन् भने १९५ युक्रेनी सैनिक किभलाई हस्तान्तरण गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।रिहा गरिएका रुसी सेनाहरूलाई उपचार र पुनर्स्थापनाको लागि मस्को लगिने रुसी रक्षा मन्त्रालयले जनाएको छ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पनि कैदीबन्दी साटफेरको पुष्टि गर्दै २०७ सैनिक घर फर्किएको बताएका छन्। यधपी रुसी रक्षा मन्त्रालयले भने १९५ युक्रेनी सैनिक मात्र फिर्ता गरेको बताएकोमा अन्य १२ कैदीबन्दी कसरी थपिए भन्ने विषयमा कुनै पुष्टि हुन सकेको छैन ।

गत साता हुने भनिएको कैदीबन्दी साटफेर प्रक्रिया यसअघी ६५ युक्रेनी कैदीबन्दी बोकेको रूसी Il-76 विमान आक्रमणमा परेपछि स्थगन हुन पुगेको थियो। रुसले उक्त विमान आक्रमण किभले गराएको भन्दै अनुसन्धानको माग गर्दै आएको छ।

नाजीवाद उन्मूलन गर्ने पुटिनको वाचा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाजीवादलाई बढावा दिने आधुनिक शक्तिहरूलाई उन्मुलन गर्ने वाचा गरेका छन्।

लेनिनग्राद क्षेत्रमा नाजी जर्मन सेनाद्वारा मारिएका सोभियत नागरिकहरूको स्मारकको उद्घाटनमा पुटिनले, केही देशहरूले इतिहासलाई पुनर्लेखन गर्न हिटलरवादी विचारधारा र विधिहरूद्वारा आफूलाई स्थापित गर्न खोजेको बताएका छन्।

कीभको शासनले हिटलरका सहयोगीहरूको प्रतिरोध गर्नेहरू विरुद्ध आतंक प्रयोग गर्दै वृद्ध, महिला र बालबालिकाहरूलाई बन्दुक र बारुदको त्रासमा राखेको र रुसी भाषी अल्पसंख्यकहरूप्रतिको व्यवहार विभेदपूर्ण भएको उनले बताएका छन्।

जनवरी २७ मा सोभियत सेनाले लेनिनग्रादको नाजी घेराबन्दी तोडेको स्मरण गर्दै जर्मनीले गरेको सोभियत जनसंख्याको नरसंहारको दाग अझै पनि सम्झनामा रहेको बताएका छन्।