काठमाडौँमा सुरु भयो इन्द्र जात्रा

काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा आजदेखि सुरु भएको छ ।

आठ दिनसम्म मनाइने यो परम्परागत साँस्कृतिक जात्रा प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो अर्थात य: सिं ठड्याएर जात्रा प्रारम्भ गरिन्छ ।

indra jatra

समयानुक्रम पुस्तान्तरण हुँदै आउँदा जात्रा मनाउने शैलीमा पनि धेर-थोर परिमार्जन हुँदै आएको बुझिन्छ। नेपाली समाजमा जात्राको प्रारम्भाबारे विभिन्न किंवदन्तीहरु रहिआएको छ। इन्द्रजात्राका अवसरमा मरुटोलमा रहेको मरुसत्तल र सिंल्यंसत्तःको बीचमा अग्लो डबली बनाई चार सिंहमाथि रहेको खटमा डोरीले बाँधेर राखिने इन्द्र सत्ताको प्रतीक मानिन्छ। इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें या:’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र या: भनेको मुख्य जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रासम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ ।

Indra jatra lingo

भक्तपुरको चित्तपोलस्थित य: सिंगुँ अर्थात जंगलबाट ल्याइएको ३२ हात लम्बाइको लिंगो मानन्धर समुदायले उठाउने प्रचलन छ । हनुमानढोका दरबारक्षेत्रमा कालभैरवको मूर्ति अगाडि धार्मिक विधिपूर्वक उक्त लिङ्गो ठड्याएइन्छ । परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर लिंगो ठड्याइन्छ ।

इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । नेवार समुदायमा मनाइने यो जात्राको उद्गम थलो हनुमानढोका दरबार क्षेत्र मानिन्छ । आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान र रथयात्रा गरी यो पर्व मनाइन्छ ।

जात्रा अवधिभर असन चोकको किराती राजा यलम्बरको शिर मानिने आकाश भैरवको मूर्ति मन्दिरको बाहिर ल्याई खट सजाएर राखिन्छ । लाखे नाच, इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक पुलुकिसी नाच, कुमारी घर अगाडि रहेको त्रैलोक्य नारायण मन्दिरमा दशावतार नाच र विभिन्न डबलीमा देवी नाच नचाइन्छ ।

श्वेत भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि हथु हाय्केगु भनी कालो जाड प्रसादका रूपमा खुवाउने चलन छ । अन्तिम दिन नानिचा याः भनेर गणेश, भैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराइन्छ । सोही दिन भाद्र २६ गते बेलुका १० बजेर ३२ बजेको साइतमा इन्द्र ध्वजपतन गरी जात्रा समापन गरिँदैछ ।

आज हरितालिका तीज

वैदिक सनातन धर्म संस्कृती अनुसार हिन्दु धर्मावलम्बी महिलाहरु हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिन नेपाली नारीहरुको महान चाड हरितालिका तीज मनाउने गर्दछन।

हरितालिका तीजको दिन नेपाली महिला दिदि-बहिनीहरु भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग यो पर्व मनाउँछन् । तीजको अघिल्लो दिन अबेर खाना खाएर तीजको दिन निराहार र निर्जला व्रत बस्ने चलन रहेको छ। यसरि तिजको दिन निराहार र निर्जला व्रत बस्ने अघिल्लो दिन खाइने खानेकुरालाई नेपालीमा दर भनिन्छ। तीजको अघिल्लो दिन नेपाली महिला दिदि बहिनीहरु अबेर रातिसम्म नाच गान गर्दै रमाइलो गरेर दर खाने प्रचलन रहेको छ।तिजको दिन महिला दिदि-बहिनीहरु विशेष गरि रातो वस्त्र धारण गर्ने र हातमा मेहेन्दी लगाउने गर्दछन, जसलाई सौभाग्यको प्रतिकको रुपमा मानिन्छ।

तीजको दिन छोरी चेलीहरु माइत (आफ्नो जन्मघर) जाने परमपरा रहेको छ। पुरानो समयमा यातायातको व्यवस्था नहुँदा टाढा-टाढा माइती भएकाहरु अरुबेला माइत जान नपाएपनि तिजको दिनमा भने माइत जाने र माइतिको आँगनीमा रमाइलो गर्ने प्रचलन रहेको पाइन्छ । त्योबेलाको अशिक्षित र कतिपय अन्धविश्वाशको समयमा सासुले बुहारीलाई दिएको पीडालाई छोरी चेलीहरुले गितको माध्यमबाट आफ्नो वेदना पोख्ने र त्यहि गीतमा रमाएर नाच्ने अनि दुख भुलाउने प्रचलन पनि रहेको पाइन्छ।

परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनि निराहार र निर्जला व्रत बसेको जनविश्वास रहिआएको छ । त्यसैले आजको दिन विवाहित नेपाली महिला दिदि-बहिनीहरु आफ्नो पतिको लामो आयुको कामनासहित पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका कामना गरेर तिजको व्रत बस्ने गर्दछन् भने अविवाहित महिला दिदि-बहिनीहरु भगवान शिव जस्तै पति प्राप्त होस् भन्ने कामना सहित तीजको व्रत बस्ने परम्परा रहेको छ। आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड लाग्ने गर्दछ ।

आज जनै पूर्णिमा

वैदिक सनातन धर्म र संस्कृती अनुसार हिन्दु धर्मावलम्बीहरुले हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी), रक्षाबन्धन पर्व मनाउने गरेका छन्। आज देशभरका विभिन्न मन्दिर र तिर्थस्थलहरुमा मेला लाग्ने गरेको छ। आजको दिन नजिकैको तिर्थस्थल,नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट जनै तथा डोरो धारण गर्ने गरिन्छ। यसरि आजको दिनमा धारण गरेको जनै र पुरोहितले,” येन बद्धो वलीराजा दानवेन्द्रो महावलस्, तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल” भन्ने मंत्रोच्चारण गरेर नाडीमा बाँधीदिने डोरोले नकारात्मक तत्वबाट सुरक्षा प्रदान गर्ने धार्मिक विश्वास रहिआएको छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई दानवहरुबाट रक्षा गर्न गुरु वृहस्पतिले डोरो बाँधिदिएको भन्ने पौराणिक कथन पनि रहेको छ। आजको दिन नाडीमा बाँधेको डोरो, गाई तिहारका दिन गाइको पुच्छरमा बांधिदिनाले वैतरणी पार गरिने विश्वाश पनि रहिआएको छ।

येन बद्धो वलीराजा दानवेन्द्रो महावलस्
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल
अर्थात्:
“जुन रक्षा (काँचो धागोबाट बनेको डोरो )ले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।”

बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म गरेका ब्राह्मण र क्षत्रिय पुरुषहरूले आजको दिन जनै फेर्ने प्रचलन रहेको छ। जनैमा रहने दुई वटा शिखाका छ वटा डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ । जनै फेरेर अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिको पूजा-आराधना गरी तर्पण दिने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ।

आज दिदीवहिनीहरुले आफ्ना दाजु-भाइको दिर्घायू र सफलताको कामना गर्दै हातको नाडीमा रक्षा बन्धन अर्थात राखी लगाईदिने चलन पनि रहेको छ । विशेष गरि नेपालको तराई क्षेत्रमा राखीको महत्त्व बढी रहेको छ ।

आजको दिन, दुई दिन अघिदेखि पानीमा भिजाई राखिएको ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, केराउ, चना, सिमी, बोडी,राजमा र बकुल्लो लगायतका गेडागूडिहरु ) टुसा उमारेर पकाएर क्वाँटी बनाएर खाने गरिन्छ। यसरी विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने र शरीर स्वस्थ र बलियो रहने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता पनि रहेको छ ।

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सार्ने दिन

असार १४ , काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।

भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । यस वर्ष भने अधिकमासका दुईसमेत गरी २६ एकादशी परेका छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् ।

कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।

तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ ।

तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिकरुपमा पुष्टि भएको छ ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ ।

तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।