प्रतिबन्ध फुकुवा नभएसम्म युरोपमा ग्यास प्रवाह सुचारु हुँदैन: रुस

क्रेमलिनले मस्को विरुद्धको पश्चिमी प्रतिबन्धहरू फुकुवा नगरेसम्म युरोपमा रुसी ग्यास आपूर्ति सुचारु नहुने बताएको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले नर्ड स्ट्रिम पाइपलाइन बन्द गर्ने रुसको निर्णयको एकमात्र कारण पश्चिमी प्रतिबन्ध नै भएको बताए छ । मस्कोले सुरुमा भने मर्मतका लागि पाइपलाइन बन्द गरिएको बताएको थियो।
नर्ड स्ट्रिम पाइपलाइन रुसी र पश्चिमी युरोप बीच ग्यास बोक्ने एकमात्र ठूलो ग्यास पाइपलाइन हो।

युरोपेली संघका अधिकारीहरूले बारम्बार रुसले पश्चिमी प्रतिबन्धहरू र युक्रेनलाई सहयोग गरेको बदला लिन जानाजानी आपूर्ति घटाएको आरोप लगाएका छन्।

अमेरिकाले पनि रुसले उर्जालाई हतियारको रूपमा प्रयोग गरेको आरोप लगाएको छ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले इयुले नवीकरणीय ऊर्जा उत्पादनहरू र विधुतीय उर्जामा सुधार गर्न योजनाहरू बढाउन आवश्यक रहेको बताएका छन्।

यसैबीच, युरोपमा ऊर्जाको मूल्य नयाँ उचाइमा पुगेको छ, जसले युरोपका देशहरूलाई रूसी ग्यासको विकल्प खोज्न तिब्रता दिन बाध्य तुल्याएको छ।

गाजप्रोमले नर्ड स्ट्रिम १ पाइपलाइन तीन दिनका लागि बन्द गर्ने

रुसको सरकारी स्वामित्वमा रहेको ग्यास कम्पनी गाजप्रोमले पाइपलाइनमा मर्मतसम्भार गर्नुपर्ने भएको भन्दै अगस्ट ३१ देखि सेप्टेम्बर २ सम्म नर्ड स्ट्रिम १ पाइपलाइन तीन दिनका लागि बन्द गर्ने भएको छ

नर्ड स्ट्रिम १ पाइपलाइन तीन दिनसम्म बन्द हुँदा युरोपको ऊर्जा अवरोध थप बढ्ने अनुमान गरिएको छ।गाजप्रोमको यो घोषणा लगत्तै युरोपेली ग्यासको मूल्य ७% ले बढेर $२६०० प्रति हजार घनमिटर माथि पुगेको छ।

गाजप्रोम जारि गरेको विज्ञप्ति अनुसार , पश्चिमी रूस र जर्मनीलाई जोड्ने पाइपलाइनको साथ प्रमुख कम्प्रेसर स्टेशनमा टर्बाइन ममर्त गर्नुपर्ने र हालको मर्मतसम्भार सम्झौता अनुसार जर्मन निर्माता, सिमेन्सका विशेषज्ञहरूसँग संयुक्त रूपमा गरिनेछ।

ग्याजप्रोमका अनुसार पूर्ण क्षमतामा ग्यास पम्प गर्न पाँचवटा टर्बाइन सञ्चालन गर्नुपर्ने हुन्छ ।पाइपलाइनको ६ वटा टर्बाइनहरू मध्ये यो अन्तिम एक हो जुन सञ्चालनमा रहेको थियो । रुसमाथि लगाइएको प्रतिबन्धका कारण क्यानडामा मर्मत गराएर ल्याइएको एउटा टर्बाइन भने हाल जर्मनीमा फसेको छ।

युरोपेली युनियन सम्बद्ध राष्ट्रहरुले भने रुसको यो कदमलाई रुसले गरेको उर्जाको राजनीति भन्दै उक्त कदमको निन्दा गरेका छन्।