बेलायती प्रधानमन्त्री बोरिस जोनसनद्वारा राजीनामा

विवादास्पद श्रृंखलाहरुको बीचमा सत्तामा आफ्नो पकड कायम राख्न संघर्ष गर्दै महिनौं बिताएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पदबाट राजिनामा दिने घोषणा गरेका छन्।

प्रमुख प्रतिपक्षी दल लेबर पार्टीको विरोध र आफ्नै पार्टीभित्रको आन्तरिक विद्रोहपछि राजनितिक दवावमा उनले राजीनामाको घोषणा गरेका हुन्।बोरिस जोनसनले अर्को प्रधानमन्त्री चयन नहुँदासम्म कार्यवाहकका रुपमा पदमा रहने पनि उल्लेख गरेका छन्।

यसैबीच, पूर्व बेलायती प्रधानमन्त्री जोन मेजरले भने, देशको समग्र हितका लागि उत्तराधिकारी नभेटेसम्म बोरिस जोनसन डाउनिङ स्ट्रिटमा बस्न नहुने बताएका छन्।नयाँ प्रधानमन्त्रीको चयन नहुँदासम्म उपप्रधानमन्त्री डोमिनिक राबले पदभार सम्हाल्न सक्ने पनि उनले बताएका छन्।

स्कटल्याण्डले स्वतन्त्रताको लागी दोस्रो जनमत संग्रह गर्ने

स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टर्जनले अर्को वर्ष अक्टोबरमा स्कटल्याण्डको स्वतन्त्रताको लागि दोस्रो जनमत संग्रहको योजना घोषणा गरेकी छिन्।स्टर्जनले,यदि बेलायती सरकारले यसलाई रोक्ने प्रयास गरेमा मतदान सुनिश्चित गर्न कानुनी कारबाही गर्ने चेतावनी समेत दिएकि छिन।

प्रो-स्वतन्त्र स्कटिश नेश्नल पार्टीको नेतृत्वमा रहेको स्कटिश सरकारले अक्टोबर १९ २०२३ मा हुने पृथक भोटको योजनालाई रूपरेखा तयार गर्दै जनमत संग्रहको लागि आवश्यक दस्तावेज सार्वजनिक गर्ने र यसबारे आफुले प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र लेख्ने पनि स्टर्जनले बताएकी छन्। स्कटिश संसदमा सांसदहरूलाई सम्बोधन गर्दै उनले स्कटल्याण्डको प्रजातन्त्रलाई प्रधानमन्त्री बोरिस जोन्सन वा कुनै पनि बेलायति प्रधानमन्त्रीको कैदीको रुपमा स्वीकार्न नसक्ने र आफुले कहिल्यै पनि त्यस्तो हुन नदिने बताएकी छन्।

स्कटल्याण्डका करिब ५.५ मिलियन मतदाताहरूले सन् २०१४ को जनमतसंग्रहमा स्वतन्त्रतालाई अस्वीकार गरेका थिए। तर स्कटल्याण्डको अर्ध-स्वायत्त सरकारले इयुबाट बेलायतको बहिर्गमनको निर्णयलाई बहुमत स्कटिशहरुले विरोध गर्दा पनि बेलायत सरकारले समर्थन गरेको भन्दै दोश्रो जनमत संग्रह हुनुपर्ने बताएको छ।

यता,स्कटल्याण्डको विपक्षमा रहेका प्रधानमन्त्री जोनसन र उनको सत्तारुढ कन्जरभेटिभ पार्टीले २०१४ को जनमतसंग्रहले नै सबै कुरा निर्क्यौल गरिसकेको भन्दै दोश्रो जनमतसंग्रहको विरोध गरेका छन्।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई रुस प्रवेशमा प्रतिबन्ध

रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतका उच्च कुटनीतिज्ञहरुलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ। बेलायती अधिकारीहरूले रुसविरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीहरूले जनाएका छन्।

रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध गर्दै आइरहेको छ। त्यसैगरी रुसविरुद्ध लड्नका लागि बेलायतले युक्रेनलाई सहयोग पनि गर्दै आइरहेको छ।

युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै विभिन्न देशहरूले रुसी कुटनीतिज्ञहरूलाई आफ्नो देशबाट निकाला गरेका छन्। धेरै देशहरूले क्रमशः रुसी अधिकारीहरूलाई देश निकाला गरिरहेका बेलामा रुसले बेलायतका उच्च अधिकारीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो।

रुसले बेलायतका विदेशमन्त्री, रक्षा मन्त्रीसहित उच्च अधिकारीहरूलाई रुस प्रवेशमा रोक लगाइएको जनाएको छ। रासस