विधान महाधिवेशनमा फरक मत पेश गर्न कर्ण थापालाई रोक

काठमाडौं — नेकपा एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस गर्ने प्रयासलाई अध्यक्ष केपी शर्मा ओलीले रोकिदिएका छन्।

विधान महाधिवेशनको दोस्रो दिनको बैठक सुरु भएपछि थापा ३२ पृष्ठको फरक मत प्रस्तुत गर्न उठेका थिए। थापाले महाधिवेशनको हलमै आफ्नो धारणा राख्न चाहेका थिए। तर अध्यक्ष ओलीले “हलमा होइन, समूह छलफलमा राख्नुस्” भन्दै रोकेका हुन्। थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट फरक मत प्रस्तुत गर्ने तयारी गरेका थिए।

ओलीले प्रतिवेदनसम्बन्धी छलफल १० वटा समूहमा भइरहेको भन्दै त्यहीँ कुरा उठाउन आग्रह गरेका हुन्। थापाले तयार पारेको प्रतिवेदन भने महाधिवेशनका प्रतिनिधिहरूलाई बाँडिएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले थापाको धारणा रोकिएको नभई समूह छलफलमा मात्र सीमित गरिएको स्पष्ट पारे। “उहाँलाई समूहमा कुरा राख्नुस् भनिएको हो, छलफलमै रोक लगाइएको होइन” गौतमले बताए।