अमेरिकी सैन्य बेसमा भएको ड्रोन आक्रमणमा आफ्नो संग्लाग्नता नरहेको इरानको भनाई

इरानले जोर्डनस्थित अमेरिकी सैन्य बेसमा भएको ड्रोन आक्रमणमा आफ्नु कुनै संलग्नता नभएको जनाएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले जोर्डनमा रहेको अमेरिकी आधार शिविरमा भएको ड्रोन आक्रमणमा तेहरानको संलग्नता नभएको स्पष्ट पारेका छन्।

जोर्डनस्थित अमेरिकी सैन्य बेसमा भएको ड्रोन आक्रमणमा ३ अमेरिकी सैनिकको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

इस्लामवादी शिया मिलिशियाहरूको छाता समूह इस्लामिक कट्टरपन्थी सशस्त्र समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको छ।उक्त समुहले आक्रमणको लागी इरानको आदेश नलिने भन्दै, उक्त आक्रमणमा इरानी विदेश मन्त्रालयले आक्रमणसंग इरानको कुनै सम्बन्ध र सरोकार नभएको उल्लेख गरेको छ।

रुसी तेल उत्पादन बोकेको बेलायती ट्याङ्करमा हुथी विद्रोहीको आक्रमण

ट्राफिगुरा (युकेमा दर्ता भएको बहुराष्ट्रिय व्यापारिक कम्पनी) को तर्फबाट सञ्चालित पेट्रोलियम-उत्पादन ट्यांकरलाई लाल सागर पार गरिसकेपछि एडेनको खाडीमा हुथी मिसाइलले प्रहार गरेको छ। उक्त जहाजले प्लास्टिक र पेट्रोकेमिकल बनाउन प्रयोग गरिने रूसी तेलको कच्चा पदार्थ बोकेको थियो।

यमनमा रहेको इरान समर्थित आन्दोलनले “अमेरिकी-ब्रिटिश आक्रामकता” को जवाफमा मारलिन लुआन्डालाई लक्षित गरेको बताएको छ। अमेरिका र बेलायतले लाल सागर क्षेत्रमा जहाजहरूमा भएको आक्रमणको जवाफमा हुथी बिद्रोहिमाथी हवाई हमला सुरु गरेका छन्।

ताजा जानकारी अनुसार ट्राफिगुराले सबै चालकदल सकुशल रहेको र कार्गो ट्याङ्कीमा लागेको आगो निभाइएको बताएको छ ।

यमनको ठूलो भागलाई नियन्त्रण गर्ने इस्लामवादी समूह हुथी बिद्रोहीहरुले इजरायल-प्यालेस्टाइन द्वन्द्व बढेदेखि नै लाल सागर र स्वेज नहर बीचको महत्त्वपूर्ण जलमार्ग पार गर्ने जहाजहरूमा आक्रमण गर्दै आएको छ, जसमा यसले प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता देखाएको दाबी गरेको छ। । आक्रमणको बीचमा, धेरै शिपिंग कम्पनीहरूले यस क्षेत्रमा यात्रा निलम्बित गरेका छन्।

गत महिना, एक अमेरिकी नेतृत्वको गठबन्धनले जहाजको सुरक्षाको लागि यस क्षेत्रमा नौसैनिक कार्यदल तैनाथ गर्दै यमनमा भएका हुथी बिद्रोहिमाथी कारवाही सुरु गरेको थियो । यसबाहेक, अमेरिका र बेलायतले उक्त समूहमाथी प्रतिबन्ध समेत लगाएका छन् । हुथीहरूले त्यसैको बदलामा यी देशहरूसँग जोडिएका जहाजहरूमा आक्रमण गर्न थालेका हुन् ।

हुथी प्रवक्ता मोहम्मद अल-बुखातीले आफुहरुले रुससँग जोडिएका जहाजहरूमा आक्रमण नगर्ने वाचा गरेको भएपनि हालसालै जारी एक विज्ञप्तिमा हुथी प्रवक्ताले, मार्लिन लुआन्डा बेलायती जहाज भएकोले यसलाई आक्रमण गरिएको बताएका छन् । उनीहरुले यो आक्रमण आफ्नो देश विरुद्ध अमेरिकी-ब्रिटिश बर्बरताको प्रतिक्रिया भएको समेत बताएका छन् ।

बेलायत सरकारले व्यावसायिक ढुवानीमा भएका आक्रमणहरू “पूर्ण रूपमा अस्वीकार्य” भएको र बेलायत र यसका सहयोगीहरूले उक्त घटनाको “उचित प्रतिक्रिया दिने अधिकार सुरक्षित” गरेको बताएको छ।