इजरायलले गाजातर्फ जाँदै गरेको खाद्यान्न सहायता बोकेका जहाजहरु नियन्त्रण गरेपछि इजरायल विरुद्ध विश्वभर विरोध प्रदर्शन सुरु भएका छन्। लण्डनमा प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप समेत भएका छन्। प्रदर्शनकारीहरूले बेलायती सरकारमाथि इजरायलमाथि दबाब नदिएको आरोप लगाउँदै खाद्यान्न सहायता बोकेका जहाजमा रहेका व्यक्तिहरूको तत्काल रिहाइको माग गरेका छन्।
‘ग्लोबल सुमुद फ्लोटिला’ नामक यो सहायता अभियान एक महिनाअघि स्पेनबाट गाजाको नाकाबन्दी तोड्ने र मानवीय सहायता पुर्याउने उद्देश्यले प्रस्थान गरेको थियो। सो जहाजमा ४४ देशका झन्डै ४०० जना सहभागी थिए, जसमा स्वीडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्ग पनि थिइन्।
इजरायली सेनाले बुधबार ति सबै जहाजहरुलाई लाई नियन्त्रणमा लिएको थियो। इजरायलको परराष्ट्र मन्त्रालयले उक्त अभियानलाई उत्तेजनापूर्ण कार्य भएको आरोप लगाएको छ।
इजरायलको कदमविरुद्ध टर्की, स्पेन, आयरल्यान्ड, इटाली, ग्रिस र ट्युनिसियामा समेत सडक प्रदर्शन भएका छन्। यसअघि पनि इजरायली नरसंहारको विरोध गर्दै,अस्ट्रेलिया,पोर्चुगल,अमेरिका लगायतका देशहरुमा विरोध प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले गाजातर्फको सहायता जहाज ‘ग्लोबल सुमुद फ्लोटिला’ नियन्त्रण तत्काल फिर्ता गर्न र सहभागीहरूको रिहाइको माग गरेका छन्।
EN