काठमाडौं – परराष्ट्रमन्त्री अर्जुना राणा देउवाले शनिबार काठमाडौं आइपुगेकी भियतनामकी उपराष्ट्रपति वो थी आन्ह सुआनसँग शिष्टाचार भेट गरेकी छन्।
सुआन नेपाली उपराष्ट्रपति रामसहाय प्रसाद यादवको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेकी हुन्।
भ्रमणको क्रममा उपराष्ट्रपति यादव र सुआनले आइतबार काठमाडौंमा हुने नेपाल–भियतनाम द्विपक्षीय बैठकमा आफ्ना–आफ्ना प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सुआनले नेपालका वरिष्ठ अधिकारी र व्यक्तित्वहरूसँग पनि शिष्टाचार भेट गर्नेछिन्।
भेटवार्तामा नेपाल–भियतनाम सम्बन्धका विभिन्न पक्षहरू साथै आपसी चासो र सहकार्यका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।
सांस्कृतिक सम्बन्धलाई जोड दिंदै उनले बौद्ध धर्म नेपाल–भियतनाम जनताबीचको बलियो कडी रहेको बताइन्। उनले धेरै भियतनामी नागरिक लुम्बिनी भ्रमण गर्ने गरेको उल्लेख गर्दै सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि संयुक्त पहल गर्न प्रस्ताव गरिन्।
पर्यटन र आपसी सम्पर्क सहज बनाउन भियतनामबाट भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सीधा हवाई उडान सुरु गर्नुपर्नेमा उनले जोड दिइन्। हालका वर्षहरूमा दुई देशबीचको पर्यटक आगमन बढ्दै गएको उल्लेख गर्दै पर्यटन क्षेत्रमा सहकार्य अझै प्रगाढ बनाउनुपर्नेमा पनि उनले ध्यानाकर्षण गराइन्।
सन् २०२६ पछि नेपाल न्यूनतम विकसित देशको सूचीबाट पदोन्नत हुने तयारीमा रहेको सन्दर्भमा, देउवाले त्यसपछिको संक्रमणकाल सहज बनाउन भियतनामको सहयोगको अपेक्षा रहेको भन्दै, सन् २०२७–२०२९ का लागि संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् र सन् २०२९–२०३१ का लागि आर्थिक तथा सामाजिक परिषद् सदस्यतामा नेपालको उम्मेदवारीलाई समर्थन गर्न अनुरोध गरेको बताइएको छ।
उपराष्ट्रपति सुआनले नेपालको अन्तर्राष्ट्रिय आकांक्षामा भियतनामले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि बताइएको छ।
EN