मन्त्री घिसिङ र भारतीय राजदूतबीच भेटवार्ता: ऊर्जा तथा सिँचाइ सहकार्यबारे छलफल

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भेटवार्ता भएको छ। राजदूत श्रीवास्तवले नवनियुक्त मन्त्रीलाई सफल कार्यकालको शुभकामना दिएका छन्।

भेटमा नेपाल–भारतबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा सहकार्य, भारतीय सहयोगमा निर्माणाधीन आयोजनाहरूको प्रगति तथा महाकाली सिँचाइ तेस्रो चरणको नहरमार्फत नेपालतर्फ पानी पठाउने विषयमा छलफल गरिएको थियो।

यस्तै, राहुघाट जलविधुत आयोजना, इनरुवा–पूर्णिया र न्यु लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको प्रगतिबारे पनि जानकारी गराइएको थियो। भारततर्फको अध्ययन पूरा भइसकेको मन्त्रालयले जनाएको छ।

मन्त्री घिसिङले दशैं–तिहारमा उद्योग र कलकारखाना बन्द हुने भएकाले आन्तरिक विधुत खपत घट्ने उल्लेख गर्दै भारतमा थप बिजुली निर्यातका लागि स्वीकृति दिन आग्रह गरेका छन्। हाल नेपाललाई भारतसहित बंगलादेशतर्फ ११६५ मेगावाट बिजुली निर्यातको अनुमति छ भने थप १३८ मेगावाट निर्यात गर्न प्रस्ताव गरिएको छ।

यस अवसरमा राजदूत श्रीवास्तवले जेन–जी आन्दोलनका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा भारत सहयोग गर्न तयार रहेको बताएका छन् ।