संविधान संशोधनकाे विषयमा एक हुँदै मधेशकेन्द्रित दलहरू

काठमाडौँ — टुट्दै र फुट्दै धेरै दलमा विभाजित मधेस केन्द्रित दलहरू संविधान संशोधनकाे विषयलाई लिएर पुनः एकपटक मोर्चाबन्दीको प्रयासमा जुटेका छन् ।

नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको सरकारले संविधान संशोधन गर्ने चर्चासँगै मधेसकेन्द्रित दलहरू मोर्चाबन्दीको कसरतमा जुटेका हुन् । हाल संसदमा मधेसको नेतृत्व गर्ने २८ जना सांसद रहेका छन् भने संसद बाहिर र भित्र गरेर १० मधेसकेन्द्रित राजनीतिक दलहरू सक्रिय छन् ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा. सुरेन्द्र झाले संविधान संशोधन मधेसवादी दलहरुको समेत एजेण्डा भएको उल्लेख गर्दै साझा धारणा बनाउन मधेश केन्द्रित दलहरुबीच समिति गठन गरिएको बताएका छन् ।संविधानबाट प्राप्त उपलब्धि पनि गुम्न सक्ने सम्भावित खतरालाई हेर्दै सबै दल र नेताहरूले सहकार्यको आवश्यकता महसुस गरेको आफूले पाएको उनले उल्लेख गरे ।

पहिलो चरणमा मधेस केन्द्रित दलहरूबीच सहकार्य गरिसकेपछि यसलाई थप विस्तार गर्दै अन्य पहिचानवादी आदिवासी जनजाति, उत्पीडित दलित केन्द्रित दल र शक्तिहरूसँग सहकार्यको प्रयास गरिने पनि उनले बताएका छन्।

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले समन्वय गरेको मधेस केन्द्रित पाँच पार्टीबिचको वार्ता समितिमा र स्वतन्त्र सांसद अमेरशकुमार सिंहको पनि त्यहाँ उपस्थिति थियो ।बैठकमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट सुरेन्द्र झा र मनीष मिश्र, सीके राउत नेतृत्वको जनमत पार्टीबाट डा.शरदसिंह यादव, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट रेणु यादव, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति मोर्चाबाट केशव झा र अनिल महासेठको उपस्थिति थियो । त्यस्तै, बैठकको संयोजन गरेको जनता प्रगतिशील पार्टीबाट अध्यक्ष त्रिपाठी, नेताहरू ईश्वरदयाल मिश्र, साविर हुसैन लगायतका नेताहरू सहभागी थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट भने कोही उपस्थित थिएन । उक्त पार्टीले उपाध्यक्ष राजकिशोर यादव, रामकुमार शर्मा र मनीष सुमन रहेको कार्यदल बनाएको छ । तर, कार्यदलबाट कसैको प्रतिनिधित्व थिएन ।

नागरिकताको समस्या छिट्टै समाधान हुन्छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता प्रमाणपत्रसम्बन्धी समस्या छिट्टै समाधान गरिने बताउनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय समितिले बाराको कलैयामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले मधेसमा नागरिकताको विषय ठूलो समस्या भएको स्वीकार गर्दै मधेसमा जन्मेर हुर्केका नेपाली नागरिकता बिहिन हुन नहुने बताएका हुन् .

कानुन नहुँदा नागरिकताको प्रमाणपत्र वितरणमा समस्या भएको खाँणले बताएका छन् । नागरिकतासम्बन्धी कानुन निर्माणको प्रस्ताव संसदमा रहेको बताउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकतासम्बन्धी ऐन बनाउन राष्ट्रिय सहमति कायम गर्नेतर्फ काम गरिरहेको जानकारी दिए ।

उनका अनुसार ऐन बनेपछि सरकारले नगरपालिकाबाट नागरिकताको प्रमाणपत्र वितरण गर्ने सोच बनाएको छ ।

उनले मधेशी जनतालाई ‘वास्तविक देशभक्त’ जनताको रुपमा प्रशंसा गर्दै देशको माटो र सिमानाको रक्षा गरेकोमा कृतज्ञता व्यक्त गरे ।

सो अवसरमा खाँणले सिम्रौनगढ नगरपालिकाकी उपमेयर रिमादेवी कुशबाहा र तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका नेता मोहन महतो कोइरी, ओमप्रकाश ठाकुरलगायतका केही नयाँ अनुहारलाई कांग्रेसमा स्वागत गरेका थिए ।

मन्त्री खाँणले जिल्लाको ऐतिहासिक पोखरी झारौखरमा स्वर्गीय भागवतप्रसाद यादवको शालिक अनावरण गरेका हुन् । नेपाली कांग्रेस राष्ट्रियताको जगमा उभिएको बताउँदै उनले सबै भूगोल, वर्ण र धर्मका नेपालीलाई एकताबद्ध गरेर नेपाल बलियो र सक्षम बन्ने विश्वास व्यक्त गरे ।

उनले मधेस प्रदेशलाई देशकै बलियो प्रदेश बनाउन काङ्ग्रेसले नेतृत्व लिने विश्वास दिलाए ।