पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।

निगमको सञ्चालक समितिको बैठकको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेल–मट्टितेलमा २ र एलपी ग्यासमा १५ रुपैयाँ बढाइएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

petrol

आयल निगमलाई सरकारी कोषबाट ४ अर्ब २० करोड प्रदान

सरकारले मूल्य स्थिरीकरण कोषबाट नेपाल आयल निगमलाई ४ अर्ब २० करोड रुपैयाँ दिने निर्णय गरेको छ ।

आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) लाई तिर्ने पर्याप्त रकम नभएपछि सरकारले उक्त रकम उपलब्ध गराउने भएको हो । निगमले आगामी शुक्रबार इन्धन खरिदका लागि आईओसीलाई १९ अर्ब ४७ करोड रुपैयाँ तिर्नुपर्नेछ भने निगमसँग हाल १३ अर्ब रुपैयाँ मात्रै रहेको निगमले जनाएको छ ।

एनओसीले प्रत्येक १५ दिनमा आईओसीलाई भुक्तानी गर्दै आएको छ । निगमले हरेक महिना ९ अर्ब रुपैयाँ घाटा बेहोर्दै आएको छ भने चालु आर्थिक वर्षमा मात्र ३३ अर्ब रुपैयाँ घाटा बेहोरेको छ ।