युरोपेली संघ रुस-युक्रेन युद्धमा शान्तिको सट्टा दीर्घकालीन युद्धको तयारीमा : हंगेरी

कोपन्हेगन- हंगेरीका परराष्ट्र मन्त्री पिटर सिज्जार्टोले युरोपेली संघ (ईयू) ले रुस–युक्रेन युद्धमा शान्ति खोज्नुको सट्टा दीर्घकालीन युद्धतर्फ तयारी गरिरहेको आरोप लगाएका छन्। शनिबार डेन्मार्कमा बसेको ईयू परराष्ट्र मन्त्रीहरूको बैठकपछि सामाजिक सञ्जाल ‘एक्स’ मा उनले ब्रसेल्सले आफ्ना सदस्य राष्ट्रहरूको चासोभन्दा युक्रेनको हितलाई प्राथमिकता दिएको टिप्पणी गरेका हुन्।

उनले भने, “आजको ईयू परराष्ट्र मन्त्रीहरूको बैठकमा स्पष्ट भयो कि ब्रसेल्स र अधिकांश सदस्य राष्ट्रहरू शान्तिको लागि होइन, लामो युद्धको लागि तयारी गर्दैछन्। उनीहरूले युक्रेनी सैनिकहरूको तलब, ड्रोन, हतियार र राज्य सञ्चालनका लागि दशौं अर्ब युरो पठाउन चाहन्छन्।”

सिज्जार्टोले युक्रेनलाई छिटो ईयू सदस्यता दिने दबाब, रुसको ऊर्जा क्षेत्रमाथि नयाँ प्रतिबन्ध, साथै थप ६ अर्ब युरो (७ अर्ब डलर) बराबरको हतियार सहयोगको माग भएको पनि बताए। उनले युरोपेली आयोगले ट्रान्सकार्पाथियाका हंगेरीयनहरूको अधिकार र हंगेरीको ऊर्जा सुरक्षाबारे उठाइएका प्रश्नलाई बेवास्ता गरेको आरोप पनि लगाए। हालै युक्रेनले द्रुज्बा तेल पाइपलाइनमाथि आक्रमण गरेपछि बुडापेस्ट–किभ सम्बन्ध अझ बिग्रिएको छ।

हंगेरीले युक्रेनलाई हतियार नपठाउने, रुसमाथिको प्रतिबन्धको विरोध गर्ने र युक्रेनलाई ईयू तथा नेटो सदस्य बनाउन नदिने आफ्नो अडान दोहोर्याएको छ।

यसैबीच, ईयूका शीर्ष कूटनीतिज्ञ काया कलासले युक्रेनलाई अझै हतियार दिने र रुसमाथि दबाब बढाउने घोषणा गरेका छन्। रुसले भने पश्चिमी सैन्य सहयोगलाई नेटोको प्रोक्सी युद्धको रूपमा व्याख्या गर्दै ईयूको सैन्यीकरण र युद्धमुखी बयानबाजीको आलोचना गरेको छ।

युक्रेन शान्ति पहल अवरुद्ध गरेकोमा ह्वाइट हाउस आक्रोशित

ह्वाइट हाउसले केही युरोपेली सरकारहरू सार्वजनिक रूपमा राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनालाई समर्थन गरे पनि व्यवहारमा कीभलाई अवास्तविक माग अघि सार्न प्रोत्साहन दिँदै युक्रेनमा शान्ति प्रक्रियामा बाधा पुर्‍याएको आरोप लगाएको छ।

अमेरिकी अधिकारीहरूले युरोपको “अत्यधिक कठोर” धारप्रति असन्तोष व्यक्त गर्दै ईयूले वाशिङ्टनमाथि निर्भर रहँदै थोरै योगदान मात्र दिएको बताएका छन्। एक वरिष्ठ अधिकारीले चेतावनी दिँदै भने, यदि युरोपले युद्ध लम्ब्याउने बाटो रोज्यो भने सम्भावित विजयलाई हारमा परिणत गर्ने खतरा छ। अर्का अधिकारीका अनुसार केही युरोपेली नेताहरू “काल्पनिक संसारमा” बसेर सम्झौताप्रतिको आवश्यकता बेवास्ता गरिरहेका छन्।

समाचारअनुसार राष्ट्रपति ट्रम्पले पनि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्झौता स्वीकार गर्न अनिच्छा देखाएको र ईयूले ह्वाइट हाउसले “यथार्थपरक” भनेको परिणामलाई समर्थन नगरेको प्रति असन्तुष्टि व्यक्त गरेका छन्।

ईयूले रुस- युक्रेन शान्ति प्रक्रिया अवरुद्ध गरेको रूसी आरोप

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष आर्थिक प्रतिनिधि किरिल दिमित्रेभले युरोपेली संघ (ईयू) ले युक्रेनलाई “असम्भव माग” अघि बढाउन प्रोत्साहन दिँदै वास्तविक शान्ति प्रयासलाई अवरुद्ध गरेको आरोप लगाएका छन्। दिमित्रेभले ईयूलाई “असफल तर्क त्याग्न” र द्वन्द्व लम्ब्याउने काम रोक्न आग्रह गरेका छन्।