ब्रसेल्स- युरोपेली नेताहरू युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई साथ दिँदै सोमबार हुने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ह्वाइट हाउस भेटमा सहभागी हुने भएका छन्। सहभागी हुने नेतामध्ये बेलायतका प्रधानमन्त्री कीयर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँ, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन, नाटो महासचिव मार्क रुट, जर्मन चान्सलर फ्रेडरिक मर्ज, फिनल्याण्डका राष्ट्रपति एलेक्जान्डर स्टब र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी छन्।
यो भेट ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा भएको शिखरवार्तामा युक्रेन युद्ध अन्त्य गर्ने कुनै सम्झौता नभएको केही दिनपछि हुँदैछ। बैठकपछि ट्रम्पले युद्धविरामभन्दा दीर्घकालीन शान्ति सम्झौता उत्तम हुने बताएका थिए । जसमा युक्रेनले आफ्ना केहि भूभागहरु रुसलाई सुम्पनु पर्ने शर्त समेत अघि सारिएको बताइएको छ। युरोपेली अधिकारीहरूले ट्रम्पले जेलेन्स्कीलाई ती सर्तहरू स्वीकार गर्न दबाब दिन सक्ने आशंका व्यक्त गरेका छन्।
जेलेन्स्कीले भने डोनबास (लुगान्स्क र डोनेट्स्क) छोड्ने प्रस्ताव अस्वीकार गर्दै यसलाई भविष्यमा रसियाले आक्रमण गर्न प्रयोग गर्न सक्ने खतरा रहेको बताएका छन्। युरोपेली नेताहरूले ट्रम्पको पछिल्लो निर्णयप्रति सावधानी देखाएका छन् तर शान्ति प्रक्रिया जेलेन्स्कीको सहमतिविना सम्भव नहुने प्रष्ट पारेका छन्।
फेब्रुअरीमा ट्रम्पसँगको सार्वजनिक वाकयुद्धपछि यो जेलेन्स्कीको पहिलो ह्वाइट हाउस भ्रमण हुनेछ। यधपी, अप्रिलमा उनीहरूबीच मेलमिलाप भएको थियो। युक्रेनले अमेरिकासँग खनिज सम्झौता गरी अमेरिकी लगानी सुनिश्चित गरेको र अमेरिकी हतियार खरिदमा भुक्तानी गर्न तयार भएको प्रष्ट पारेपछि ट्रम्प जेलेन्स्कि सम्बन्धमा केहि सुधार आएको थियो ।
तर अलास्का भेटमा अन्तर्राष्ट्रिय फौजदारी अदालतको गिरफ्तारी वारन्ट लागेका पुटिनलाई ट्रम्पले रातो कार्पेट ओछ्याएर स्वागत गरेपछि युक्रेन र युरोपेली मुलुकमा चिन्ता बढेको छ। जेलेन्स्कीले भने “स्थायी शान्ति आवश्यक छ, केवल अर्को आक्रमणबीचको छोटो विश्राम मात्र होइन” भन्दै आफ्नो अडान दोहोर्याएका छन्।
EN