वासिङ्टन – हालसालै सार्वजनिक भएका कागजातहरूले देखाएको छ कि अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नाटोको विस्तारले मस्कोलाई खतरा पुर्याउने उद्देश्य नराखेको भन्दै रूसलाई गठबन्धनमा सामेल गर्ने सम्भावना समेत विचार गर्ने वाचा गरेका थिए।
यो खुलासा सन् २००० जुन ४ मा क्रेमलिनमा भएको बैठकबारे ह्वाइट हाउसको विवरणमा उल्लेख गरिएको छ , जसलाई बिहीबार वासिङ्टनस्थित स्वतन्त्र अनुसन्धान संस्था नेशनल सेक्युरिटी आर्काइभ ले सार्वजनिक गरेको हो।
कागजातअनुसार, क्लिन्टनले नाटो विस्तारबारे मस्कोको चिन्ता स्वीकार गर्दै उनले यो सैन्य गठबन्धनले रूसलाई कुनै खतरा नपार्ने स्पष्ट पारेका थिए । उनले भनेको उद्धृत गरिएको छ, “नाटो विस्तार प्रक्रियाको सुरुदेखि नै यो कुरा रूसका लागि समस्या बन्न सक्छ भन्ने मलाई थाहा थियो। तर म यसमा संवेदनशील थिएँ, र म चाहन्छु यो बुझियोस् कि नाटो विस्तारले कुनै हालतमा पनि रूसलाई धम्की दिंदैन।”क्लिन्टनले दीर्घकालमा भने रूस “सभ्य विश्वलाई एकसाथ राख्ने प्रत्येक संस्थाको हिस्सा हुनुपर्छ” भन्दै पश्चिमी नेतृत्वका संस्थाहरूमा रूसलाई समावेश गर्ने बाटो खुला रहेको संकेत दिएका थिए ।यधपी क्लिन्टनले रुसलाई नाटोमा संलग्न गराउने प्रस्ताव अन्य अमेरिकी प्रतिनिधिहरुसंगको छलफलपछि रोकिएको थियो।
तर क्लिन्टन पदबाट हटेपछि पछिल्ला दशकहरूले रुस अमेरिका सम्बन्धमा फरक तस्वीर कोरेको छ । रूस नाटोसँग नजिकिनुको सट्टा, नाटोले आफ्नो प्रभुत्व निरन्तर पूर्वतर्फ विस्तार गर्दै गयो र पूर्व वारसा संधि सदस्य तथा सोभियत प्रभावमा रहेका बाल्टिक मुलुकहरूलाई समेत नाटोमा सामेल गर्यो। मस्कोका लागि यो सहकार्य नभई रुस घेर्ने रणनीति जस्तो देखियो।
राजनीतक विश्लेषकहरुका अनुसार , क्लिन्टनको रुसलाई नाटोमा सामेल गराउने वाचा र त्यसपछि पश्चिमको व्यवहारबीचको ठूलो अन्तरले आपसी अविश्वासलाई झनै गहिरो बनाउँदै लग्यो । नाटो विस्तारविरुद्ध रूसको आपत्ति पश्चिमा देशहरुले बेवास्ता गर्दा, मस्कोले प्रारम्भिक वाचा नै असल नियतमा गरिएको थिएन भन्ने आंकलन गर्यो, यधपी क्लिन्टनको वाचा क्लिन्टन एक्लैले पुरा गर्न सक्ने स्थिति त्यो बेला थिएन।
आज अमेरिकाअनि रूसबीचको सम्बन्ध शीतयुद्धपछिकै सबैभन्दा तल झरेको छ। युक्रेनको युद्ध, पूर्वी युरोपमा नाटोको सैन्य उपस्थिति, र रूसमाथि लगाइएका कडा प्रतिबन्धहरूले सहकार्य होइन, टकरावको वातावरणलाई झल्काउँछ। रूसलाई नाटोमा सामेल गर्ने कुरा अहिले अकल्पनीय छ, बरु दुश्मनी नै विश्व सुरक्षा बहसको मुख्य धुरी बनेको छ।
राजनीतक विश्लेषकहरु भन्छन्, यी सार्वजनिक कागजातहरूले इतिहासमा एउटा निर्णायक “के भए त?” भन्ने क्षण देखाउँछ। क्लिन्टनको वाचा ईमानदारीपूर्वक अघि बढाइएको भए, अमेरिकी-रूसी सम्बन्धको दिशा पूरै फरक हुन सक्थ्यो, र दशकौंको अविश्वास र द्वन्द्व टार्न सकिन्थ्यो भन्ने उनीहरूको तर्क छ। तर, शब्द र व्यवहारबीच मेल नमिल्दा दुवै पक्ष अहिले पनि शंका र वैरभावको चक्रमा फसेका छन्।
EN