भारतीय कम्पनी टाटा र एयरटेलद्वारा नेपालमा इन्टरनेट ब्यान्डविथ रोक्ने चेतावनी

भारतीय कम्पनी टाटा र एयरटेलले पाँच महिनादेखि भुक्तानी नपाएकाले नेपालमा प्रवेश गर्ने इन्टरनेट ब्यान्डविथ अवरुद्ध हुने चेतावनी दिँदै नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई पत्र पठाएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आईएसपीहरूलाई आफ्नो बक्यौता उल्लेख गर्दै डलरमा भुक्तानी गर्न सिफारिस नगरेपछि भारतीय कम्पनी टाटा र एयरटेलले विगत पाँच महिनादेखि आफ्नो भुक्तानी पाएका छैनन् । मासिक ५० करोड रुपैयाँसम्मको भुक्तानी अलपत्र परेको छ ।

नेपालका आईएसपीहरूले भारतीय कम्पनी एयरटेल र टाटासँग अन्तर्राष्ट्रिय ब्यान्डविथ खरिद गरिरहेका छन् । तर, मन्त्रालयले कम्पनीहरूलाई डलरमा तिर्न सिफारिस नगरेपछि ब्यान्डविथको भुक्तानी रोकिएको हो । टाटा र एयरटेलले नेपालका आईएसपीहरूलाई पत्र लेखेर समयमै भुक्तानी नगरे ब्यान्डविथ रोक्न चेतावनी दिएका छन्।

तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले महालेखा परीक्षकको कार्यालयले औंल्याएअनुसार आइएसपीहरूले सन् २०१८/१९ देखिको बक्यौता नतिरेसम्म डलरमा भुक्तानी गर्न सिफारिस नगर्ने बताएको छ ।

भारतीय कम्पनीहरुले ३० दिनको अल्टिमेटम दिएर नेपाली आईएसपीहरुलाई फागुन ९ गते पत्र पठाएका थिए । उनीहरूले ३० दिनपछि बिना सूचना सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका छन्, जसले नेपाली आईएसपीहरूलाई चिन्तित बनाएको छ ।