अतिरिक्त हवाई रुटको मार्ग प्रशस्त गर्न भारत सरकारसँग परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच भएको शिष्टाचार भेटमा राणाले भैरहवास्थित गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न सहरबाट हवाई उडानको मार्ग प्रयोग गर्नका लागि अतिरिक्त हवाई रुटको विषयलाई विशेष प्राथमिकतामा राखिदिन महावर मार्फत् भारत सरकारलाई आग्रह गरेकी छन् ।

शिष्टाचार भेटको क्रममा नेपाल भारत सम्बन्धका विविध विषयहरुका साथै आपसी चासो, साझा हित र आगामी दिनमा गरिने सहकार्यबारे समेत कुराकानी गरेको मन्त्री राणाको सचिवालयले बताएको छ।

सो भेटका क्रममा दुई देशबीचको सीमासम्बन्धी कार्यदल, बाउन्ड्री वर्किङ ग्रुप एक महत्वपूर्ण संयन्त्र रहेको विषयमा रहेको र दुई देशका बीचमा सीमा सम्बन्धमा कुनै मुद्दा उठेमा सोही समूह बसेर आवश्यक कार्य गर्नुपर्नेमा केही बर्षदेखि त्यसको बैठक बस्न नसकेकाले उक्त ग्रुपको बैठक बस्ने विषयमा छलफल भएको थियो।

नेपालले महाकाली नदीको पूर्वी तर्फबाट दार्चुला हुँदै टिंकरसम्म पुग्ने सडक निर्माण गरिरहेको र भौगोलिक बिकटताका कारण निर्माण कार्यका लागि आवश्यक उपकरण एवं सामग्री ढुवानीका लागि समस्या भएकाले भारतको भूमि भएर ती सामग्रीहरुको ओसारपसारका लागि नेपालले औपचारिक रुपमा नै आग्रह गरिसकेकाले त्यसका लागि सहजीकरण गरिदिन पनि मन्त्री राणाले आग्रह गरेकी छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण गरिंदै

चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण हुँदैछ।

चीन सरकारले नेपाललाई सो विमानस्थल हस्तान्तरण गर्ने कार्यक्रम छ। चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त विमानस्थलको साँचो हस्तान्तरण गर्ने कार्यक्रम तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ। उनका अनुसार विमानस्थल निर्माणको बाँकी रहेको सात प्रतिशत काममा डेकोरेशन, फिनिसिङ लगायतका काम रहेको छ। विमानस्थलको रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर लगायतका १४ वटा भवनको निर्माण काम यसअघि नै सकिएको हो।

उक्त विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ। यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन्।