लौरो चिन्ह स्वतन्त्रको होइन: निर्वाचन आयोग

निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीले लौरो चिन्हलाई स्वतन्त्रहरुको साझा अभियान भनेर जनतामा झुटा प्रचार गरिरहेको विषय प्रति पार्टी संयोजक अनन्तराज घिमिरेसँग स्पष्टिकरण माग गरेको छ। हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह आयोगको समानुपातिक सूचीमा दर्ता भएकोले उक्त लौरो चिन्ह स्वतन्त्रहरुको नभएको निर्वाचन आयोगले बताएको छ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ९ का स्वतन्त्र उमेदवार विजय कँडेल र सुनिल रिजालले गत आइतबार (दर्ता नम्बर १६००) मा हाम्रो नेपाली पार्टीको नाममा दर्ता भएको लौरो चुनाव चिन्हको सम्बन्धमा प्रष्ट पारिदिन निर्वाचन आयोगमा उजुरी दर्ता गरेका थिए। सोही, उजुरीको आधारमा शुक्रबार आयोगले लौरो चुनाव चिन्ह स्वतन्त्रहरुको हो भनि झुटा प्रचारप्रसार गरिएको भन्दै हाम्रो नेपाल पार्टीको संयोजक अनन्तराज घिमिरेलाई स्पष्टिकरण दिन निर्वाचन आयोगमा उपस्थित हुनको लागि निर्देशन दिएको छ।

स्थानीय निर्वाचनमा निर्वाचन आयोगले लौरो चिन्ह स्वतन्त्र उम्मेदवारहरुलाई प्रदान गरेकोमा हाल सो चुनाव चिन्ह स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्रहरुको साझा चुनाव चिन्ह लौरो भनेर विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा आइ रहेको छ ।

उक्त चिन्ह निर्वाचन आयोगमा दर्ता रहेको हाम्रो नेपाली पार्टी नामक राजनीतिक दललाई प्रदान गरेकोले उक्त चुनाव चिन्ह स्वतन्त्रहरुको साझा तथा वैकल्पिक चिन्ह भनेर जनमानसमा भ्रम सिर्जना गर्ने कार्य भइरहेको हुँदा सो चिन्ह खारेजीको माग गर्दै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का स्वतन्त्र उमेदवार विजय कँडेल र काठमाडौं क्षेत्र नम्बर ९ का स्वतन्त्र उमेदवार सुनिल रिजालले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका थिए।

निर्वाचनमा खडा भएका स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिन्ह उम्मेदवारी मनोनयन भइ सकेपछिको सबै कानूनी प्रकृया पूरा गरी निर्वाचन अधिकृतले कानून बमोजिम प्रदान गर्ने हुँदा सो कार्यविधि नै पूरा नभएको अवस्थामा स्वतन्त्र उम्मेदवारको लौरो निर्वाचन चिन्ह भनी प्रचार गरेको कार्य कानून सम्मत नदेखिएको दललाई प्रदान गरिएको निर्वाचन चिन्ह स्वतन्त्र उम्मेदवारको निर्वाचन चिन्हको समूहमा नरहने र उम्मेदवारहरुलाई प्रदान गर्न नसकिने हुँदा दलको नामबाट लौरो चिन्ह प्रयोग नगरी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गरेको कार्य निर्वाचनको स्वच्छ प्रतिष्पर्धाको सिद्धान्त विपरीत देखिएको र यसले आम जनमानसमा भ्रम तथा अन्यौलता सिर्जना गर्ने भएकोले त्यस्ता भ्रामक कुराहरु प्रचार प्रसार नगर्न नगराउन र विभिन्न सामाजिक सञ्जालमा स्वतन्त्र उम्मेदवारको लौरो चिन्ह भनी राखिएका सामाग्री तुरुन्त हटाउनुका साथै तीन दिन भित्र आयोगमा स्वयं उपस्थित भई स्पष्टिकरण पेश गर्न आयोगले हाम्रो नेपाली पार्टीको संयोजक अनन्तराज घिमिरेलाई निर्देशन दिएको छ।

‘हाम्रो नेपाल पाटी’ लौरो चिन्ह को संयोजक अनन्तराज घिमिरेलाई निर्वाचन आयोगले स्पष्टिकरण दिन सोधेका प्रश्नहरु:

१.प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (६) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (६) मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ स्वतन्त्र उम्मेदवारलाई आयोगले निर्धारण गरेको प्रदान गरिएको निर्वाचन चिन्हको समूहबाट तोकिएको बमोजिमको तरिका अनुसार निर्वाचन अधिकृतले निर्वाचन चिन्ह प्रदान गर्नैछ भन्ने कानुनी व्यवस्था रहेकोमा तपाईको दललाई प्रदान गरिएको निर्वाचन चिन्ह लौरो तपाईं दलको अध्यक्ष अनन्तराज घिमिरे लगायतका व्यक्तिहरुले स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार प्रसार गरेको देखिएकोले के कुन आधारमा स्वतन्त्र उम्मेदवारको चिन्ह हो भनी प्रचार प्रसार गर्नु भएको हो ?

२. तपाईको दल निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भई समानुपातिक निर्वाचन प्रणालीर्तफको बन्दसूची समेत पेश गरी निर्वाचन चिन्ह लौरो समेत प्रदान गरिसकिएकोमा लौरी चिन्ह स्वतन्त्रको हो र म स्वतन्त्र उम्मेदवार हु भनी के कुन आधारमा प्रचार प्रसार गर्नु भएको हो? त्यसरी स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गर्न मिल्ने हो होइन?

३. प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (३) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (३) मा आयोगले राजनीतिक दल वा उम्मेदवारलाई निर्धारण गरिएको निर्वाचन चिन्ह दलका उम्मेदवार वा दल बाहेक अरु कसैले पनि प्रयोग गर्न पाउने छैन भन्ने कानूनी व्यवस्था रहेकोमा लौरो चिन्ह स्वतन्त्र उम्मेदवारको चिन्ह हो भनी प्रचार प्रसार गर्ने अधिकार तपाई र तपाईको दललाई कुन कानूनले प्रदान गर्यो ?

४. दलको चिन्ह स्वतन्त्र उम्मेदवारको चिन्ह हो भनी प्रचार प्रसार गर्ने कार्य कानून विपरीत भई यस्ता भ्रामक कार्यले मतदाता र सर्वसाधरणमा अन्यौलता सिर्जना गरी स्वच्छ निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने हुँदा तपाई र तपाईंको दललाई कारवाही किन नगर्ने?

निर्वाचन आयोगद्वारा स्थानीय तह निर्वाचनमा पर्यवेक्षणका लागि निवेदन दिन आह्वान

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संघ संस्थालाई निवेदन दिन आह्वान गरेको छ ।

निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन गरेका राष्ट्रिय संघ संस्था र व्यक्तिबाट निर्वाचन पर्यवेक्षण गराउन निवेदनका लागि आयोगले आजदेखि लागू हुने गरी १५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।

निर्वाचनको पर्यवेक्षण गर्न चाहने संस्थाले निवेदनका साथ संस्था दर्ता प्रमाणपत्र, नवीकरण भएको निस्सा, विधान र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि पेश गर्नुपर्ने छ । संस्थाका कार्यसमितिका पदाधिकारीको नामावली, पर्यवेक्षणको अनुभव भए सोको प्रमाण तथा संस्थाले तयार गरेको पुस्तिका र निर्देशिका प्रति पेश गर्न भनिएको छ । यद्यपि कुनै संघ संस्थालाई पर्यवेक्षण गर्न अनुमति दिने वा नदिने भन्ने अघिकार आयोगमा निहित छ ।

निर्वाचनको पर्यवेक्षण गर्न चाहने व्यक्ति वा संस्थाले निर्धारित प्रक्रिया पूरा गरी अनुमति लिनु पर्नेछ ।
पर्यवेक्षण अनुमति पाएका सङ्घसंस्था र व्यक्तिले निर्वाचन सकिएको १५ दिनभित्र प्रारम्भिक र कार्य समाप्त भएको ३० दिनभित्र आयोगसमक्ष अन्तिम प्रतिवेदन पेश गर्नुपर्ने छ । तोकेको कार्यविधि र आचारसंहिता पालना नगरी पर्यवेक्षण गर्नेको अनुमति रद्द गर्न सक्ने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ ।