बाँसबारी जग्गा प्रकरणमा कानुन उल्लंघन भएकोभए जग्गा फिर्ता गर्ने चौधरीको प्रतिबद्धता

काठमाडौं – बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीले जग्गा अधिग्रहण अवैध पाइएमा जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् ।

पक्राउ परेका व्यापारी चौधरीको बयान लिने क्रममा संलग्न अनुसन्धान अधिकृतले यस्तो खुलासा गरेका हुन् ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठको उपस्थितिमा बयान लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

जग्गा हिनामिना प्रकरणमा प्रहरीले चौधरी सहित बाँसबारी जुत्ता कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा, च्याम्पियन फुटवेयर प्रालि र सीजी चन्दबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो ।

सरकारी जग्गा हिनामीना अभियोगमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ

काठमाडौँ – सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई प्रहरीले बिहीबार दिउँसो लाजिम्पाटबाट पक्राउ गरेको हो ।

उनी नेपालको एकमात्र अर्बपति विनोद चौधरीका भाइ हुन्, जो संघीय संसदका सदस्य पनि हुन्। बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सार्वजनिक जग्गा गैरकानुनी रुपमा निजी सम्पत्तिमा परिणत गरेको अरुण चौधरीमाथि आरोप छ ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो ।चौधरीलाई नेपाल प्रहरीको सिआइबीको टोलीले लाजिम्पाटस्थित निवासबाट पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई चार दिनको म्याद थप गर्दै हिरासतमा राख्ने अनुमति दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिएका छन् ।

सिआइबीले बाँसबारीस्थित कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंहलाई पनि पक्राउ गरेको छ । उनलाई बत्तीसपुतलीस्थित आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

बाँसबारी छाला र जुत्ता कारखाना सन् १९६० को दशकमा चिनियाँ सरकारको सहयोगमा राज्यको स्वामित्वमा रहेको संस्थाको रूपमा स्थापना भएको थियो। तर, पछि सार्वजनिक संस्थानले नियमित घाटा व्यहोरेको भन्दै कारखाना निजी कम्पनीलाई बेचेको थियो ।