पर्यटनमन्त्री र बिम्स्टेक महासचिवबीच भेटवार्ता

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेबीच भेटवार्ता भएको छ ।

महासचिव पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार मन्त्री पाण्डेसँग पर्यटन मन्त्रालयमा भेट गरेको हो । भेटमा बिम्स्टेक देशबीचको भिसा सहजीकरण, धार्मिक, सांस्कृतिक र पर्यटकीय सर्किटमा पर्यटन पूर्वाधार विकासलगायत विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पाण्डेले बिम्स्टेक टुरिज्म फन्ड वृद्धि गरी त्यसको प्रभावकारी कार्यान्वयका लागि सहयोग गर्न आग्रह गर्दै नेपालको हवाइ उड्डयन क्षेत्र चलायमान बनाउने, पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउन बिम्स्टेक सदस्य राष्ट्रका पर्यटन बोर्डबीच आबद्धता तथा आपसी आदान–प्रदानलगायत विषयमा जोड दिए ।

मन्त्री पाण्डेले दक्षिण एसियाली सहयोग संगठन (सार्क) सचिवालय सक्रिय नभएकै कारण सार्क निष्क्रिय रहेको उल्लेख गर्दै बिम्स्टेक सचिवालयलाई सक्रिय र प्रभावकारी बनाउन समेत आग्रह गरे ।

महासचिव पाण्डेले बिम्स्टेकको महत्वपूर्ण एजेन्डा ‘कनेक्टिभिटी’ भएको बताउँदै नेपालको पर्यटन क्षेत्रको विकासका लागि सहयोग रहने प्रतिबद्धता जनाएका छन्। । उनले बिम्स्टेकको आगामी शिखर सम्मेलनमा नेपालको पर्यटनलगायत सम्भावित क्षेत्रबारे संस्थागत रूपमा कुरा उठाउनेसमेत बताएका छन्।

बिमस्टेकलाई नयाँ जीवन दिनुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) लाई नयाँ जीवन दिनुपर्ने बताउनुभएको छ । उहांले सदस्य राष्ट्रका स्रोत साधन परिचालन गर्नुपर्ने पनि बताउनुभएको छ ।

श्रीलंकामा भएको सम्मेलनलाई सम्बोधन गर्दै देउवाले बिमस्टेकले कोरोना महामारीको दीर्घकालीन आर्थिक, सामाजिक र विकासमा पर्ने असरलाई सम्बोधन गर्दै सामान्य अवस्थामा फर्किने सुनिश्चितता गर्नुपर्ने बताउनुभएको छ । उहांले यस क्षेत्रका चुनौतिहरूबारे बोल्दै बिमस्टेक सदस्यहरूले व्यापार र लगानी, ऊर्जा, कनेक्टिभिटी, जलवायु परिवर्तन र जनताबीचको सम्पर्कलाई सामूहिक रूपमा विचार गर्नुपर्ने बताउनुभएको छ ।

उहांले बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्न जतिसक्दो चाँडो बुद्ध सर्किट बनाउनुपर्नेमा जोड दिँदै बौद्ध धर्म यस क्षेत्रमा बलियो कडी हुने बताउनुभएको छ । यसैबीच, कोलम्बोमा हुने सम्मेलनमा सहभागी परराष्ट्रमन्त्री खड्काले राष्ट्रपति राजापाक्षेसँग भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयमा भएको भेटमा राष्ट्रपति राजापाक्षले दुई देशबीचको लामो समयदेखि रहेको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै आपसी हितका लागि आर्थिक सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने बताउनुभएको छ ।