काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेका स्वदेशी फूलको बिक्री तथा वितरणलाई व्यवस्थित बनाउन महानगरभित्रका ३३ स्थानमा फूल बिक्री सुरु गरेको छ। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले तोकेका विभिन्न स्थानमा स्थानीय किसान तथा व्यापारीले फूल बिक्री गर्न थालेका हुन्।
महानगरपालिकाले फूल बिक्रीका लागि स्थान निर्धारण गरेसँगै ती क्षेत्रमा बिहानैदेखि फूल खरिद गर्ने ग्राहक तथा बिक्री गर्ने व्यापारीको चहलपहल बढेको छ। तोकिएका स्थानमध्ये स्वयम्भू भगवानपाउ क्षेत्रमा बिहानैदेखि फूल किन्ने ग्राहक र व्यापारीको भीड लागेको छ। विभिन्न प्रकारका स्वदेशी फूल बिक्रीका लागि राखिएपछि बजारमा किनमेल गर्नेहरूको उपस्थिति बढेको हो।
काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले प्लास्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा रोक लगाइएको जानकारी गराएको छ। नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६०) अन्तर्गत प्राप्त अधिकार प्रयोग गरी नेपालभर प्लास्टिकजन्य माला तथा पुष्पगुच्छाको कारोबारमा पूर्ण प्रतिबन्ध लगाएको महानगरले जनाएको छ।
महानगरपालिकाले समेत विगतका वर्षदेखि नै प्लास्टिकजन्य माला तथा पुष्पगुच्छाको आयात, बिक्री वितरण र भण्डारणलाई निषेध गर्दै आएको छ। वातावरण प्रदूषण न्यूनीकरण गर्ने तथा प्राकृतिक फूलको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको हो।
पछिल्लो समय चाडपर्व, धार्मिक तथा सांस्कृतिक कार्यक्रम र विभिन्न समारोहमा फूलको माग बढ्दै गएको
छ। यस्तो मागलाई विदेशी तथा कृत्रिम फूलको सट्टा नेपाली किसानले उत्पादन गरेका स्वदेशी फूलबाटै पूर्ति गर्ने लक्ष्य महानगरपालिकाले राखेको छ।
स्थानीय किसानले उत्पादन गरेका फूललाई सहज रूपमा बजारसम्म पुर्याउन र किसानलाई बिचौलियाको भर नपरी सिधै उपभोक्तासम्म पुग्ने अवसर उपलब्ध गराउन महानगरपालिकाले बिक्री केन्द्रका रूपमा ३३ स्थान निर्धारण गरेको हो।
यस व्यवस्थाले नेपाली किसानको उत्पादनले बजार पाउने, स्वदेशी फूलको व्यापार प्रवर्द्धन हुने तथा स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। साथै, प्लास्टिकजन्य फूलमालाको प्रयोग घटाउँदै वातावरणमैत्री उत्पादन तथा उपभोग संस्कृतिको विकासमा समेत सहयोग पुग्ने विश्वास महानगरपालिकाले लिएको छ।
महानगरपालिकाले स्वदेशी फूलको प्रयोग बढाउन र स्थानीय किसानबाट उत्पादित फूललाई प्राथमिकता दिन उपभोक्तालाई आग्रह गरेको छ। नेपाली किसानको मेहनतबाट उत्पादित फूलको प्रयोगले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै वातावरण संरक्षणमा पनि योगदान पुग्ने अपेक्षा गरिएको छ


।
प्रतिक्रिया