+
Search

ताजा अपडेट +

पपुलर +

तिहारसँगै मादलको व्यापार बढ्यो, दैनिक ८० वटासम्म बिक्री

तिहारसँगै मादलको व्यापार बढ्यो, दैनिक ८० वटासम्म बिक्री

२०८३ कार्तिक २१, शनिबार

सुनसरी– तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको व्यापार बढ्न थालेको छ। देउसीभैलो खेल्ने समूहले मादल खरिद गर्न थालेपछि सुनसरीका बजारमा यसको बिक्री बढेको हो।
आधुनिक प्रविधिको विकाससँगै सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रममा डिजिटल साउन्ड सिस्टमको प्रयोग बढ्दै गए पनि तिहारमा देउसीभैलो खेल्दा मादलको आकर्षण भने कायमै रहेको छ। यही परम्पराका कारण हरेक वर्ष तिहारको समयमा मादलको माग बढ्ने गरेको व्यापारीहरू बताउँछन्।धरान उपमहानगरपालिका–२ छाताचोकस्थित साल्सा म्युजिक स्टोरका सञ्चालक सुमन चौधरीका अनुसार तिहारका बेला दैनिक ७० देखि ८० वटासम्म मादल बिक्री हुने गरेको छ। सामान्य समयमा भने दैनिक पाँचदेखि १० वटासम्म मात्रै बिक्री हुने गरेको उनले बताए।
विगत २० वर्षदेखि मादल, गितारलगायत विभिन्न बाजाको व्यापार गर्दै आएका चौधरीले तीन हजारदेखि आठ हजार रुपैयाँसम्मका मादल बिक्री गर्दै आएका छन्। उनले भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर र बेलटारलगायत क्षेत्रमा मादल पठाउने गरेका छन्।पहिले बाहिरबाट मादल ल्याएर बिक्री गर्ने चौधरीले अहिले आफ्नै कारखानामा उत्पादनसमेत गर्दै आएका छन्। आफ्नै कारखाना भएपछि ग्राहकको मागअनुसार आकार र गुणस्तरका मादल तयार गर्न सहज भएको उनको भनाइ छ। उनको पसल तथा कारखानामा छ जनाले रोजगारीसमेत पाएका छन् भने परिवारका सदस्यले पनि व्यवसायमा सहयोग गर्दै आएका छन्।
यस्तै, धरानको मुख्य बजार भानुचोकदेखि पूर्वतर्फको देसी लाइनमा मादलको व्यापार गर्दै आएका यदुनाथ अधिकारीले पनि तिहार नजिकिएसँगै बिक्री बढेको बताए। विगत १५ वर्षदेखि परिवारका सदस्यसँग मिलेर मादल र खुकुरीको व्यापार गर्दै आएका उनको पसलमा दुई हजारदेखि सात हजार रुपैयाँसम्मका मादल उपलब्ध छन्।अधिकारीका अनुसार तिहारमा देउसीभैलो खेल्ने समूहले मादल खरिद गर्ने भएकाले माग बढ्ने गरेको छ। विशेषगरी लक्ष्मीपूजादेखि मादलको बिक्री अझै बढ्ने गरेको उनले बताए। कहिलेकाहीँ एकै दिन आठदेखि १० वटासम्म मादल बिक्री हुने गरेको उनको भनाइ छ।
भोजपुर, धनकुटा तथा पश्चिम नेपालमा उत्पादित मादल खरिद गरेर बिक्री गर्दै आएका अधिकारीले ग्राहकको आर्थिक अवस्था र आवश्यकताअनुसार विभिन्न मूल्य तथा गुणस्तरका मादल राख्ने गरेको बताए। देउसीभैलोका लागि केही समय मात्रै प्रयोग गर्ने समूहले सस्तो मादल खोज्ने भएकाले सबै मूल्यका मादल उपलब्ध गराउने गरिएको उनले उल्लेख गरे।यसैगरी, इटहरी उपमहानगरपालिका–६ का भेषराज अधिकारी पनि विगत नौ वर्षदेखि मादल र खुकुरीको व्यापारमा संलग्न छन्। उनका अनुसार तिहारको समयमा मादलको बिक्री उल्लेख्य रूपमा बढ्ने गरेको छ। यस अवधिमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्मको मादल बिक्री हुने गरेको उनले जानकारी दिए।
नेपाली मौलिक संस्कृति र देउसीभैलो खेल्ने परम्परासँग जोडिएको मादलको प्रयोग तिहारमा विशेष हुने गरेको छ। आधुनिक बाजाको प्रयोग बढ्दै गए पनि मौलिक बाजाप्रतिको आकर्षण कायमै रहँदा तिहारले मादल व्यवसायीको व्यापारमा उत्साह थपेको छ।

प्रतिक्रिया

लेखकको बारेमा