+
Search

ताजा अपडेट +

पपुलर +

तिहार नजिकिएसँगै भक्तपुरमा फूलमालाको मूल्य बढ्यो, उपभोक्ता मारमा

तिहार नजिकिएसँगै भक्तपुरमा फूलमालाको मूल्य बढ्यो, उपभोक्ता मारमा

२०८३ कार्तिक २१, शनिबार
  • भक्तपुर– तिहार नजिकिएसँगै भक्तपुरमा मखमली र सयपत्री फूल तथा मालाको मूल्य बढेको छ। किसानको घरदैलोमै पुगेर व्यापारी तथा बिचौलियाले प्रतिस्पर्धात्मक रूपमा फूलमाला खरिद गर्न थालेपछि बजारमा मूल्य वृद्धि भएको हो।
    भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानले उत्पादन गरेका फूल तथा माला अहिले बजारमा महँगो मूल्यमा बिक्री भइरहेका छन्। तिहार सुरु भएसँगै बजारमा उपभोक्ताको चहलपहल बढेको छ भने फूलमालाको मूल्य वृद्धिले सर्वसाधारण प्रभावित भएका छन्।बजारमा एउटा मखमली फूलको माला ८० देखि ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। किसानको घरबाट व्यापारीले शुक्रबारसम्म प्रतिमाला २२ देखि २५ रुपैयाँमा खरिद गर्ने गरेकोमा अहिले ३० देखि ३५ रुपैयाँसम्म तिर्न थालेका छन्। तर बजारमा त्यही माला दोब्बरदेखि तेब्बर मूल्यमा बिक्री भइरहेको किसानहरूको भनाइ छ।
    गुण्डुकी पुष्प व्यवसायी प्रमिला घतानीका अनुसार व्यापारीले अहिले किसानको घरबाटै मखमली फूलको माला ३० देखि ३५ रुपैयाँमा खरिद गरिरहेका छन्। व्यापारीले भने बजारमा प्रतिमाला ८० देखि ९० रुपैयाँसम्म लिने गरेका छन्।सयौँ वर्षदेखि पुस्तान्तरण हुँदै मखमली फूल उत्पादन तथा व्यापार गर्दै आएका ताथलीका बनमालाहरूले पनि तिहार नजिकिएसँगै फूलमालाको माग र मूल्य दुवै बढेको बताएका छन्। किसानको घरमै व्यापारीको प्रतिस्पर्धा बढ्दा उत्पादन गर्ने किसानलाई केही राहत मिले पनि उपभोक्ताले भने महँगो मूल्य तिर्नुपरेको छ।
    गुण्डुकी पुष्प व्यवसायी मीना नगरकोटीका अनुसार यस क्षेत्रमा पछिल्लो १५ वर्षदेखि व्यावसायिक रूपमा करोडौँ रुपैयाँको फूल तथा माला उत्पादन र बिक्री हुँदै आएको छ। व्यापारीले किसानबाट खरिद गरेको मूल्यभन्दा दोब्बरदेखि तेब्बरसम्म बढी मूल्यमा बजारमा बिक्री गर्ने गरेको उनको भनाइ छ।स्थानीय उर्मिला नगरकोटीका अनुसार गुण्डुमा फूल तथा मालाको व्यापारबाट एक परिवारले एक लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। उनका अनुसार गुण्डुबाट मात्रै वार्षिक पाँच करोड रुपैयाँभन्दा बढीको फूल तथा माला उत्पादन र बिक्री हुने गरेको छ।
    त्यस्तै, स्थानीय अनिता बस्नेतले यस वर्ष आफ्नो ४० आना अर्थात् साढे दुई रोपनी जग्गामा फूलखेती गरेर तीन लाख रुपैयाँ आम्दानी गरेको बताइन्। उनका अनुसार सयपत्री फूललाई मुठा बनाएर बिक्री गर्दा चारदेखि पाँचवटा फूलको एउटा मुठाको मूल्य २० देखि २५ रुपैयाँसम्म पर्ने गरेको छ।सयपत्री फूल पाथी तथा ढ्वाङमा भरेर पनि बिक्री गर्ने गरिन्छ। किसानले तीन पाथीभन्दा बढी अट्ने ढ्वाङको फूल करिब ७०० रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन्। बजारमा भने त्यही फूल प्रतिकिलो ४०० देखि ५०० रुपैयाँसम्ममा बिक्री भइरहेको बस्नेतले बताइन्।
    स्थानीय किसानका अनुसार मखमली फूलको माला उनेर बिक्री गर्दा एउटै घरपरिवारले वार्षिक ५०० देखि १० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। कतिपय परिवारले सयपत्री फूल बिक्रीबाट ३० हजारदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।
    मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित पूजा पसल सञ्चालक कमलनाथ पौडेलका अनुसार अहिले सयपत्री फूल प्रतिकिलो ४५० रुपैयाँ र मखमली फूलको माला ७० रुपैयाँमा बिक्री भइरहेको छ। उनले भोलिदेखि फूलको मूल्य अझै बढ्न सक्ने बताए।यस वर्ष लामो समयसम्म परेको झरी र वर्षाका कारण सयपत्री फूलको उत्पादनमा क्षति पुगेपछि बजारमा मूल्य बढेको पुष्प व्यवसायी रामेश्वर बासीले बताए। उनका अनुसार खुला ठाउँमा लगाइएको फूलखेती वर्षाले नष्ट भएको छ भने टनेलमा उत्पादन गरिएको फूल मात्रै बजारमा आउन थालेको छ।
    बजारमा सयपत्री फूलको माला लम्बाइ र आकारअनुसार प्रतिगोटा १५० देखि ८०० रुपैयाँसम्ममा बिक्री भइरहेको व्यवसायी बासीले बताए। उत्पादनमा आएको कमी र तिहारको बढ्दो मागका कारण यस वर्ष फूलमालाको मूल्य अझै बढ्न सक्ने देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा