+
Search

ताजा अपडेट +

पपुलर +

रोनाल्डोले टुंग्याए पोर्चुगलको राष्ट्रिय टोलीसँगको २३ वर्षे यात्रा

रोनाल्डोले टुंग्याए पोर्चुगलको राष्ट्रिय टोलीसँगको २३ वर्षे यात्रा

२०८३ कार्तिक २०, शुक्रबार

काठमाडौँ — विश्व फुटबलका महान् खेलाडीमध्ये एक क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय फुटबल टोलीबाट सन्न्यास घोषणा गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत भावुक भिडियो सन्देश सार्वजनिक गर्दै ४१ वर्षीय रोनाल्डोले राष्ट्रिय टोलीसँगको आफ्नो २३ वर्ष लामो यात्रा अन्त्य गर्ने निर्णय सुनाएका हुन्।
उनको घोषणासँगै पोर्चुगलको सात नम्बर जर्सीमा देखिँदै आएको एउटा ऐतिहासिक अध्याय समाप्त हुने भएको छ। रोनाल्डोले आगामी नोभेम्बरको अन्तर्राष्ट्रिय खेलपछि राष्ट्रिय टोलीको जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका छन्।‘अब राष्ट्रिय टोलीको सात नम्बर जर्सी भविष्यको पुस्तालाई हस्तान्तरण गर्ने समय आएको छ। यो सजिलो निर्णय थिएन, किनकि केही निर्णय दिमागले मात्र होइन, मनले पनि गर्नुपर्छ,’ उनले आफ्नो सन्देशमा भनेका छन्।
सन् २००३ अगस्टमा पोर्चुगलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोले त्यसयता अन्तर्राष्ट्रिय फुटबलमा अनेकौँ कीर्तिमान कायम गरेका छन्। उनले पोर्चुगलका लागि २३४ खेल खेल्दै १४६ गोल गरेका छन्। पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसमेत उनकै नाममा छ।
क्लब फुटबलसँगै अन्तर्राष्ट्रिय मैदानमा पनि आफ्नो छुट्टै पहिचान बनाएका रोनाल्डोको खेल जीवन गति, उत्कृष्ट गोल क्षमता, प्रतिस्पर्धात्मक भावना र कठिन परिस्थितिमा पनि हार नमान्ने स्वभावका कारण विश्वभर चर्चित रह्यो।रोनाल्डोका लागि राष्ट्रिय टोलीको जर्सी केवल खेलकुदको पोसाक मात्र थिएन। यो देशप्रतिको जिम्मेवारी, राष्ट्रिय गौरव र करोडौँ समर्थकको भावनासँग जोडिएको विषय थियो। उनले आफ्नो सन्देशमा विदेशमा बसोबास गर्ने पोर्चुगिज नागरिकलाई समेत विशेष रूपमा सम्झिएका छन्।
देशबाट टाढा रहे पनि राष्ट्रिय टोलीको खेलका ९० मिनेटमा मातृभूमिसँग नजिक भएको महसुस गर्ने समर्थकसँगको सम्बन्ध आफूले कहिल्यै नबिर्सने उनले बताएका छन्।
‘मैले कहिल्यै नभेटेका लाखौँ पोर्चुगिज नागरिक पनि मेरो जीवनको हिस्सा बने। यदि मेरो कुनै गोलले कसैलाई खुसी बनायो, कसैलाई अँगालो हाल्न प्रेरित गर्‍यो वा आफ्नो देशप्रति गर्व महसुस गरायो भने मेरो यात्रा सार्थक भएको छ,’ उनले भनेका छन्।उनले आफ्नो फुटबल यात्रामा साथ दिने परिवार, समर्थक, सहकर्मी खेलाडी, प्रशिक्षक तथा टोलीका कर्मचारीप्रति आभार व्यक्त गरेका छन्। ‘पोर्चुगल सधैँ मेरो मनमा रहनेछ,’ उनले सन्देशमा उल्लेख गरेका छन्।
पोर्चुगललाई दिलाएका दुई ठूला उपाधि
रोनाल्डोको राष्ट्रिय टोलीसँगको यात्रा व्यक्तिगत कीर्तिमानमा मात्र सीमित रहेन। उनको कप्तानीमा पोर्चुगलले सन् २०१६ मा पहिलोपटक युरोपियन च्याम्पियनसिप (युरो) को उपाधि जितेको थियो। त्यसबेला फाइनलमा फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले ऐतिहासिक सफलता हात पारेको थियो।
त्यसैगरी, सन् २०१९ मा पहिलोपटक आयोजना गरिएको यूईएफए नेसन्स लिगको उपाधि पनि पोर्चुगलले जितेको थियो। सन् २०२५ मा पनि पोर्चुगलले नेसन्स लिगको उपाधि जित्दा रोनाल्डो टोलीका महत्त्वपूर्ण सदस्य थिए।छ फरक विश्वकप संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो प्रभावलाई थप उचाइ दिएका छन्। व्यक्तिगत उपलब्धि, गोल सङ्ख्या र टोलीलाई दिलाएका सफलताले उनलाई फुटबल इतिहासका अविस्मरणीय खेलाडीमध्ये एक बनाएको छ।
क्लब फुटबलमा भने निरन्तरता
राष्ट्रिय टोलीबाट सन्न्यास घोषणा गरे पनि रोनाल्डोको व्यावसायिक फुटबल यात्रा भने तत्काल समाप्त हुने छैन। उनी हाल साउदी अरेबियाको क्लब अल नासरबाट खेलिरहेका छन्। राष्ट्रिय टोलीबाट अलग भए पनि क्लब फुटबललाई निरन्तरता दिने उनको योजना छ।रोनाल्डोको सन्न्यास घोषणापछि पोर्चुगिज फुटबल महासङ्घले उनको योगदानप्रति आभार व्यक्त गरेको छ। महासङ्घले रोनाल्डोको समर्पण, नेतृत्व र सफलताले नयाँ पुस्ताका खेलाडीलाई प्रेरित गरेको उल्लेख गरेको छ। उनलाई सम्मान गर्न विशेष कार्यक्रम आयोजना गर्ने योजना पनि महासङ्घले सार्वजनिक गरेको छ।
२३ वर्षसम्म पोर्चुगलको जर्सी लगाएर विश्व फुटबलमा प्रभाव जमाएका रोनाल्डोको अन्तर्राष्ट्रिय यात्रा अब औपचारिक रूपमा अन्त्यतिर पुगेको छ। तर उनले बनाएका १४६ गोलको कीर्तिमान, २३४ खेलको योगदान र पोर्चुगललाई दिलाएका उपाधिले उनलाई फुटबल इतिहासमा लामो समयसम्म जीवित राख्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा