+
Search

ताजा अपडेट +

पपुलर +

ठमेल पर्यटन विकास परिषद्को प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ठमेल पर्यटन विकास परिषद्को प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

२०८३ कार्तिक २१, शनिबार

काठमाडौँ– ठमेल पर्यटन विकास परिषद्ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार २१८ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षति पुगेका संरचनाको पुनर्निर्माण र प्रभावित नागरिकको राहतका लागि परिषद्ले उक्त रकम सहयोग गरेको हो।
शुक्रबार साँझ काठमाडौँमा आयोजित ‘ठमेल क्षेत्रको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तरक्रिया’ कार्यक्रममा परिषद्का अध्यक्ष राजुमान डङ्गोलले काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले विपद्का बेला ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीले प्रभावित नागरिकका लागि गरेको सहयोगको प्रशंसा गरे।
परिषद्का कोषाध्यक्ष किन्चु ल्हामु भुटिया श्रेष्ठले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पुनर्निर्माण, भौतिक संरचनाको पुनःस्थापना तथा प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग गरिएको जानकारी दिइन्।
परिषद्का महासचिव पशुपति कँडेलका अनुसार यसअघि पनि परिषद्ले रसुवाको बाढी प्रभावित क्षेत्रमा पुगेर २५ लाख रुपैयाँ बराबरको खाद्यान्न, भाडाकुँडा तथा लत्ताकपडा वितरण गरेको थियो।पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय परिषद्ले विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो दायित्व भएको जनाएको छ।
परिषद्ले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सरकार, निजी क्षेत्र र विभिन्न सङ्घसंस्थाबीच सहकार्य र एकताबद्ध प्रयास आवश्यक रहेकोमा जोड दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा