एजेन्सी — युरोपका विभिन्न देशमा बिहीबार एकैदिन एक दर्जनभन्दा बढी विमानमा बम राखिएको भन्दै धम्की आएपछि हवाई उडानमा अवरोध सिर्जना भएको छ। धम्कीपछि केही विमानलाई आकस्मिक अवतरण गराइएको छ भने केहीलाई सैन्य लडाकु विमानको सुरक्षामा गन्तव्यसम्म पुर्याइएको छ।
यद्यपि, विभिन्न विमानस्थलमा गरिएको सुरक्षा जाँचका क्रममा कुनै पनि विमानमा विस्फोटक पदार्थ वा शङ्कास्पद वस्तु फेला नपरेको सम्बन्धित अधिकारीहरूले बताएका छन्। बेलायतकी यातायातमन्त्री हेइडी अलेक्जेन्डरले घटनालाई ‘दुर्भावनापूर्ण झुटा धम्की’ को संज्ञा दिएकी छन्।
यसै साता युरोपका अन्य विमानमा पनि यस्तै धम्की आएपछि उडानको मार्ग परिवर्तन र सुरक्षा जाँच गर्नुपरेको थियो। एकैदिन यति धेरै विमानलाई लक्षित गरी धम्की आउनुलाई असामान्य घटनाका रूपमा हेरिएको छ।पछिल्लो समय युरोपका विभिन्न देशमा सुपरमार्केटका रेफ्रिजरेसन प्रणालीमा आक्रमण, ड्रोनको अनधिकृत प्रवेश तथा आपत्कालीन सूचना प्रणालीमा शङ्कास्पद गतिविधि देखिएका छन्। यस्तै घटनाक्रमबीच विमानलाई लक्षित गरी धम्की आएपछि युरोपको हवाई सुरक्षा व्यवस्थामाथि चासो बढेको छ।
ब्रसेल्सस्थित ब्रुगेल थिङ्क ट्याङ्कका वरिष्ठ अनुसन्धानकर्ता ज्याकोब फङ्क किर्केगार्डले यस्ता धम्की युरोपेली सरकार तथा विमानस्थलका सुरक्षा निकायको प्रतिक्रिया परीक्षण गर्ने प्रयास हुन सक्ने विश्लेषण गरेका छन्। उनका अनुसार यस्ता घटनाले हवाई यातायातप्रतिको विश्वासमा असर पार्नुका साथै आर्थिक क्षति र उडान व्यवस्थापनमा समेत समस्या निम्त्याउन सक्छ।युरोपेली सङ्घका यातायात आयुक्त अपोस्टोलोस त्जित्जिकोस्तासले भने यी घटनाहरू आपसमा सम्बन्धित छन् वा छैनन् भन्नेबारे अहिले नै निष्कर्ष निकाल्न नहुने बताएका छन्। घटनाबारे सम्बन्धित देशका निकायले अनुसन्धान गरिरहेका छन्।
फ्रान्समा आकस्मिक अवतरण, इटालीमा सैन्य विमानको सुरक्षा
आयरल्यान्डको डब्लिनबाट इटालीको रोम जाँदै गरेको एर लिङ्गसको विमानमा बमको धम्की आएपछि फ्रान्सको एभ्रुस्थित सैन्य हवाई अड्डामा अवतरण गराइएको थियो। विमान सुरक्षित अवतरण गरेपछि बम निष्क्रिय पार्ने विशेषज्ञ टोलीले जाँच गरेको फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुको कार्यालयले जनाएको छ।विमानका पाइलटले सुरक्षा अधिकारीसँग अपेक्षित समन्वय नगरेको भन्दै प्रधानमन्त्री लेकोर्नुले सैन्य विमान परिचालन गरी उक्त विमानलाई सैन्य अड्डासम्म पुर्याउन निर्देशन दिएका थिए। घटनाबारे फ्रान्सेली उड्डयन सुरक्षा निकायले अनुसन्धान गरिरहेको छ।
त्यस्तै, हेलसिन्कीबाट रोमका लागि उडेको फिनएयरको विमानलाई इटालीका वायुसेनाका लडाकु विमानले सुरक्षा दिएका थिए। कम्पनीका अनुसार उसका दुई उडानमा बम राखिएको भन्दै धम्की आएको थियो। ती दुवै विमान सुरक्षित अवतरण भएका थिए।
बुल्गेरियाका लागि उडेका र्यानएयरका तीन विमानमा पनि यस्तै धम्की आएपछि सैन्य विमान परिचालन गरिएको थियो। कोपनहेगन र म्याड्रिडबाट आएका दुई विमान सोफिया विमानस्थलमा तथा लन्डनबाट आएको अर्को विमान प्लोभ्दिभ विमानस्थलमा सुरक्षित अवतरण भएका थिए।अन्य युरोपेली विमानस्थलमा पनि सुरक्षा सतर्कता
चेक गणतन्त्रको प्राग विमानस्थलमा बमको धम्की आएका चार विमानको जाँच गर्दा कुनै शङ्कास्पद वस्तु फेला परेन। पोल्यान्डको एलओटी एयरलाइन्सको वार्साबाट ब्रसेल्स गएको विमानमा पनि अवतरणपछि गरिएको जाँचमा कुनै खतरनाक वस्तु भेटिएन।
त्यस्तै, इटालीको मिलानबाट रोमानियाको बुखारेस्ट गएको विज एयरको विमान र सर्बियाको बेलग्रेडबाट बुखारेस्ट गएको एयर सर्बियाको विमानमा पनि बमको धम्की आएको थियो। दुवै विमानमा गरिएको सुरक्षा जाँचपछि कुनै विस्फोटक पदार्थ नभेटिएको सम्बन्धित अधिकारीहरूले बताएका छन्।यसअघि पनि एलओटी, स्क्यान्डिनेभियन एयरलाइन्स, विज एयर र र्यानएयरका उडानलाई लक्षित गरी यस्तै धम्की आएका थिए। ती घटनामा समेत कुनै विस्फोटक पदार्थ फेला परेको थिएन।
विमान सुरक्षासम्बन्धी विज्ञहरूका अनुसार यस्ता झुटा धम्कीले विमानको सुरक्षा जाँच, उडान मार्ग परिवर्तन, चालकदलको समय व्यवस्थापन तथा यात्रुको कनेक्सन उडान छुट्नेजस्ता समस्या निम्त्याउँछन्। उड्डयन सुरक्षा विज्ञ फिलिप बाउमका अनुसार एउटा उडान अवरुद्ध हुँदा सम्बन्धित एयरलाइन्सलाई दुई लाख ५० हजार अमेरिकी डलरसम्म आर्थिक भार पर्न सक्छ।
यद्यपि, पछिल्ला धम्की कसले दिएको हो, ती घटनाबीच कुनै सम्बन्ध छ वा छैन र यसको उद्देश्य के हो भन्नेबारे अझै खुल्न सकेको छैन। घटनाको अनुसन्धान जारी रहेको छ।
युरोपभर एकैदिन एक दर्जनभन्दा बढी विमानमा बमको धम्की, उडान प्रभावित
युरोपभर एकैदिन एक दर्जनभन्दा बढी विमानमा बमको धम्की, उडान प्रभावित
२०८३
प्रतिक्रिया