काठमाडौँ– सरकारले सिफारिस गरेका दुईवटा अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेका छन् । गत कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेपछि ती राष्ट्रपति कार्यालय पठाइएको हो ।
सरकारले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश सिफारिस गरेको हो ।
राष्ट्रपति कार्यालयका अनुसार दुवै अध्यादेश प्राप्त भइसकेका छन् । हाल ती अध्यादेश अध्ययनको क्रममा रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।प्रेस काउन्सिलसम्बन्धी अध्यादेशमा पत्रकारिताजन्य गतिविधि सञ्चालन गरिरहेका सामाजिक सञ्जालका पेजलाई समेत पत्रकार आचारसंहिताको दायरामा ल्याउने प्रावधान समेटिएको बताइएको छ ।
संविधानको धारा ११४ अनुसार संसद्को अधिवेशन नरहेको अवस्थामा तत्काल केही गर्न आवश्यक परे मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ ।
जारी भएको अध्यादेश संसद्मा पेस गर्नुपर्ने र संसद्बाट स्वीकृत नभएमा वा प्रतिस्थापन विधेयकमार्फत ऐनमा परिणत नभएमा ६० दिनपछि निष्क्रिय हुने संवैधानिक व्यवस्था छ ।सरकारले भने अध्यादेश ल्याउनुपर्ने कारण र समेटिएका अन्य विषयबारे औपचारिक जानकारी दिएको छैन ।
सरकारले सिफारिस गरेका दुई अध्यादेश राष्ट्रपति कार्यालयमा, अध्ययन हुँदै
सरकारले सिफारिस गरेका दुई अध्यादेश राष्ट्रपति कार्यालयमा, अध्ययन हुँदै
२०८३
प्रतिक्रिया