+
Search

ताजा अपडेट +

पपुलर +

देवकोटाको जन्मजयन्तीमा साहित्यकार त्रिपाठी र पत्रकार अर्याल सम्मानित

देवकोटाको जन्मजयन्तीमा साहित्यकार त्रिपाठी र पत्रकार अर्याल सम्मानित

२०८३ कार्तिक २३, सोमबार

काठमाडौँ– महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति वासुदेव त्रिपाठी र पत्रकार निर्मल अर्याल सम्मानित भएका छन् ।

नयाँबस्ती युवा क्लबको ४०औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गा उप्रेतीले दुवैलाई सम्मान गर्दै नेपाली भाषा, साहित्य, वाङ्मय र संस्कृतिको विकासमा त्रिपाठी र अर्यालले महत्वपूर्ण योगदान पुर्‍याएको बताए ।

उनले साहित्यको विकासका लागि भाषा र शैलीमा आधुनिक वाक्यविन्यासको प्रयोग बढाउनुपर्ने उल्लेख गर्दै यसले नेपाली भाषालाई थप गतिशील बनाउने विश्वास व्यक्त गरे ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले लेखक तथा साहित्यकारले समाजमा विद्यमान विसङ्गति र विकृतिविरुद्ध साहित्य सिर्जना गर्दै आर्थिक तथा सामाजिक रूपान्तरणमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सम्मानित साहित्यकार त्रिपाठीले सामाजिक विकासका लागि साहित्य सशक्त माध्यम भएको बताए । उनले स्रष्टाले समाजका सांस्कृतिक सम्पदा, जातीय विविधता तथा आर्थिक पीरमर्कालाई गहिरो अध्ययन र अनुभूतिमार्फत भाषिक कौशलका साथ यथार्थ रूपमा प्रस्तुत गर्नुपर्ने धारणा राखे ।

सम्मानित पत्रकार अर्यालले महाकवि देवकोटाको जन्मजयन्तीको अवसरमा सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा सामाजिक क्षेत्रमा थप क्रियाशील रहने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा