+
Search

ताजा अपडेट +

पपुलर +

–७ विदेशमन्त्रीहरूको बैठक आजदेखि पेरिसमा, युक्रेन युद्ध र इरान तनाव मुख्य एजेन्डा

जी–७ विदेशमन्त्रीहरूको बैठक आजदेखि पेरिसमा, युक्रेन युद्ध र इरान तनाव मुख्य एजेन्डा

२०८३ कार्तिक २३, सोमबार

पेरिस– युक्रेन युद्ध अन्त्यका लागि समाधान खोज्ने तथा इरानमाथि सम्भावित थप सैन्य आक्रमण रोक्न कूटनीतिक पहल अघि बढाउने उद्देश्यले जी–७ राष्ट्रका विदेशमन्त्रीहरू सोमबारदेखि फ्रान्सको पेरिसमा दुईदिने बैठकमा सहभागी हुँदैछन् ।

बैठकमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिकाका विदेशमन्त्री सहभागी हुनेछन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि बैठकका दुवै दिन उपस्थित हुनेछन् ।

बैठकको प्रमुख एजेन्डामा युक्रेन युद्ध अन्त्यका लागि अमेरिका, रुस र युक्रेनबीच मङ्गलबार र बुधबार अबुधाबीमा हुने वार्तामा युरोपेली राष्ट्रहरूको भूमिका सुनिश्चित गर्ने विषय रहनेछ ।फ्रान्सका विदेशमन्त्री जिन–नोएल बारोटले अबुधाबी वार्तामा युरोपेली राष्ट्रहरूको प्रतिनिधित्व हुने र फ्रान्स पनि सहभागी हुने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग युरोपलाई समेत समेटेर बृहत् सम्झौता गर्न सकिने सङ्केत गरेपछि युक्रेनलाई प्रतिकूल सर्त स्वीकार गर्न दबाब पर्ने हो कि भन्ने चिन्ता युरोपेली राष्ट्रहरूमा देखिएको छ ।
त्यस्तै, इरानमाथि थप सैन्य आक्रमण हुन सक्ने सम्भावना र मध्यपूर्वमा बढ्दो तनावबारे पनि बैठकमा छलफल हुनेछ । हर्मुज जलघाँटीबाट हुने ऊर्जा ढुवानीलाई सामान्य अवस्थामा फर्काउने विषयसमेत प्राथमिकतामा रहनेछ । राष्ट्रपति ट्रम्पले शुक्रबार इरान सम्झौता गर्न निकै इच्छुक रहेको बताएका थिए ।
बैठककै अवसरमा फ्रान्सले चेर्नोबिल आणविक केन्द्रको क्षतिग्रस्त सुरक्षा संरचना मर्मतका लागि दाता सम्मेलनसमेत आयोजना गर्नेछ । मर्मतका लागि करिब ५० करोड युरो आवश्यक पर्नेमा हालसम्म आधाभन्दा केही बढी रकम मात्रै जुटेको छ । सन् २०२७ को वसन्तसम्म आवश्यक रकम सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।यसैबीच, फ्रान्सले मार्सेमा लागूऔषध तस्करी नियन्त्रणका लागि १४ अन्तर्राष्ट्रिय बन्दरगाहको सञ्जाल स्थापना गर्ने कार्यक्रम पनि अघि सारेको छ ।
अमेरिकी विदेशमन्त्री रुबियोले भने मध्यावधि निर्वाचनमा राष्ट्रपति ट्रम्प र रिपब्लिकन पार्टीले व्यहोरेको पराजयबारे प्रत्यक्ष टिप्पणी गर्न अस्वीकार गरेका छन् । अमेरिकामा शक्ति विभाजन हुनु असामान्य विषय नभएको उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा