प्रतिनिधिसभाको अन्तिम बैठकमा कसले के बोले ?

  • नेपाल राष्ट्रिय दैनिक
  • September 17, 2022
parliament

प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल शनिबार राति १२ बजेबाट समाप्त हुँदैछ  । प्रतिनिधिसभाको ११ औं अधिवेशन अन्तर्गत शनिबार बसेको अन्तिम बैठक सकिएसँगै प्रतिनिधिसभा निष्क्रिय भएको छ ।

प्रतिनिधिसभाको यो पाँचवर्षे कार्यकाल निकै विवादास्पद र उतारचढावपूर्ण रहयो। दुई पटक सम्म विघटन गरिएको प्रतिनिधिसभा झण्डै ९ महिना अवरुद्द रहयो। एमाले र माओवादीको एकताबाट दुइतिहाई बहुमत लिएर सुरुभएको प्रतिनिधिसभा अन्त्यमा एमाले बाहेकको पाँच दलिय गठबन्धनको बहुमतहुँदै अन्त्य भएको छ।

प्रतिनिधिसभाको यो पाँचवर्षे कार्यकालमा सांसदको सेवासुविधामा राज्यको झण्डै ३ अर्ब ८० करोडभन्दा बढी रकम खर्च गरेर अन्तिम बैठकसम्म आइपुग्दा पनि,राज्य र जनताको लागि संसदले गरेका उपलब्धि र कमजोरीहरुको समिक्षा गर्नुको सट्टा, नेपाली राजनीतिका शिर्ष नेताहरुले एकअर्काप्रति आक्षेप लगाउनमै समय खर्च गरे।

सभामुख अग्निप्रसाद सापकोटा
सभामुख अग्निप्रसाद सापकोटाले दुई पटक विघटन भएको संसद पुनर्स्थापना हुनुले शक्ति सन्तुलन र नियन्त्रण सहितको संवैधानिक सर्वोच्चता स्थापित भएको र यो आगामी दिनका लागि मार्गदर्शन साबित हुने बताउनुभएको छ। प्रतिनिधिसभाको यो पाँचवर्षे कार्यकालमा राष्ट्रियताका सवालमा अभूतपूर्व कार्य भएको पनि सभामुख सापकोटाले बताउनुभएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतको परमादेशकै कारण, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संसद्‍मा भेट भएको र संगै काम गर्ने अवसर मिलेको बताउनुभएको छ। साथै,जनताले संघर्षबाट ल्याएको संविधानलाई रक्षा गर्नका लागि सहकार्य गरेर संविधान बमोजिम चल्नुपर्ने बताउनुभएको छ। प्रतिनिधिसभाको आफ्नो कार्यकालमा सरकारले राम्रो उपलब्धी हासिल गरेको र स्थानीय,संघ र प्रदेशको चुनाव गर्ने अवसर प्राप्त भएको समेत बताउनुभएको थियो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा भंग गरेको र प्रतिगमनको नाममा भ्रम फैलाउन खोजेको बताउनुभएको छ ।ओलीले निर्वाचन गर्न नभई देशलाई अँध्यारो सुरुङतिर लैजान प्रतिनिधिसभाको विघटन गरेको समेत बताउनुभएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशबाट प्रतिनिधिसभा पुन:स्थापना हुनु असंवैधानिक भएको बताउनुभएको छ। वर्तमान सरकारको पालामा भ्रष्टाचार बढेको समेत बताउनुभएको छ।ओलीले मंसिर ४ गते जनताले सरकार र गठबन्धनलाई जवाफ दिने समेत बताउनुभएको छ। प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा, परमादेशकै कारणले सदनमा भेट भएको भन्ने प्रधानमन्त्री देउवाको अभिव्यक्ति प्रति इङ्गित गर्दै ओलीले भन्नुभयो ,छुट्टिने बेलामा के कठोर बोली बोल्नु छ र ?

झलनाथ खनाल
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले,एमाले अध्यक्ष ओलीले दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरे पनि जनताले सम्झिन लायक कुनै पनि काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ।अदालतले दुई -दुई पटक संसद विघटन गर्नु असंवैधानिक भएको भन्दा पनि ओलीको दिमाग नखुलेको भन्दै, अब मंसीर ४ को चुनावले ओलीको चेत खुल्ने बताउनुभएको थियो। ओली सरकारको पालामा धरहरा र रानीपोखरी बनाइएको भन्ने कुराप्रति इंगित गर्दै, रानी पोखरी मल्लाकालीन राजा प्रताप मल्ल र धरहरा भीमसेन थापाकै पालामा बनिसकेको थियो भन्ने कुराको जिकिर गर्नुभएको थियो।

बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहानाबाजी गरेर नागरिकता विधेयक रोक्न नहुने बताएका छन्। नागरिकता विधेयकको मुद्दालाई दलहरुले दलगत र गुटगत आधारमा लम्ब्याइरहेको समेत बताएका छन्।

जसपा अध्यक्ष उपेन्द्र यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले, नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा संसदीय मर्यादाको खिल्ली उडेको टिप्पणी गरेका छन् ।प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सन्तोषजनक नरहेको भन्दै, नागरिकता विधेयक प्रमाणीकरण नभए मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने उनले बताएका छन्।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५