सोह्र श्राद्धको पहिलो दिन आज प्रतिपदा र द्वितीया तिथि खप्टिएका कारण एकै दिन दुवै तिथिको श्राद्ध पर्न गएको छ ।
वैदिक सनातन धर्म संस्कृती अनुसार हिन्दु धर्मावलम्बीहरुले स्वर्गीय भएका आफ्नो पितृको सम्झनामा,उहाँहरुको मोक्षको कामना गर्दै पितृ कर्म गर्ने गर्दछन जसलाई श्राद्ध भनिन्छ। यसरी पितृ कर्म गर्नाले पितृहरुको आशिर्वाद कायम रहने विश्वाश गरिन्छ।
वैदिक सनातन धर्म संस्कृती अनुसार श्राद्ध वर्षको दुई पटक गरिन्छ। पहिलो, पितृहरुको देहावसान भएको तिथिमा र दोस्रो, सोह्र श्राद्धमा।पूर्णिमाबाट सुरु भएको पितृ कर्म औँसीका दिन गरी १६ दिनसम्म चल्ने भएकाले पनि यो पितृ कर्मलाई सोह्र श्राद्ध भनिन्छ । यो समय पितृहरू पृथ्वी लोकमा आ-आफ्ना सन्ततिका घरमा आएर बस्ने गर्दछन् भन्ने धार्मिक विश्वाश रहिआएको छ ।
प्रत्येक वर्ष पितृका नाममा गरिने सोह्र श्राद्धको शुभ साइतमा, पितृहरुलाई तर्पण दिएर पिण्ड दान गरिन्छ । यो समयमा पिण्ड दान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता पनि रहिआएको छ।सोह्रश्राद्ध गर्नाले पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहेको छ। सोह्र श्राद्ध बिहानै गर्नु शास्त्रसम्मत नहुने र अपराह्नकाल पारेर पितृको तिथिका दिन सोह्र श्राद्ध गर्नु उपयुक्त हुने मानिएको छ ।
सोह्र श्राद्ध प्रारम्भको एउटा पौराणीक कथा :
सोह्र श्राद्ध प्रारम्भको कथा महाभारतको युद्धसँग जोडिएको छ। महाभारतको युद्धमा मृत्यूवरण गरेपछि दानवीर भनेर कहलिएका कर्ण स्वर्गमा पुग्छन्। स्वर्गमा उनलाई खानको निम्ति इन्द्रले सुनचाँदी मात्र दिन्छन् जुन खान असम्भव हुन्छ ।त्यसपछि कर्णले राजा इन्द्रलाई, मलाई किन खानको लागि खानेकुरा नदिएर सुन र चाँदी दिएको भनेर प्रश्न गर्छन्। जवाफमा इन्द्रले, कर्णले जीवनभरि सुनचाँदी र आभुषण मात्र दान गरेको तर कुनै पनि आनाज र खानेकुरा दान नगरेको कारणले भोजनका लागि अन्नको सट्टा सुनचाँदी दिएको बताउँछन् । तर कर्णले आफूलाई त्यसबारे थाहा नभएको बताएपछि इन्द्रले कर्णलाई पृथ्वीमा फिर्ता पठाउँछन्। पृथ्वीमा फर्किएर कर्णले गरिब मानिसहरु र पशुपंक्षीहरुलाई तृप्त हुनेगरी खानेकुरा खुवाए र अन्न-अनाज दान गरे। सो अवधि सोह्र दिनको रहेकोले सोह्र श्राद्धको सुरुवात भएको र यस अवधिमा यमराजले पनि सबै पितृहरुलाई आ-आफ्नो घर जान खुल्ला छोडिदिन्छन् भन्ने धार्मिक मान्यता रहिआएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्