१५६औँ मोती जयन्ती

  • नेपाल राष्ट्रिय दैनिक
  • August 27, 2022
motiram bhatta

नेपाली साहित्य क्षेत्रका एक अजर-अमर व्यक्तित्व मोतीराम भट्टको आज १५६ औँ जन्म जयन्ती। कुशे औँसीको दिन जन्मनुभएकोले हरेक वर्ष कुशे औंसीको दिन साहित्यकार मोतीराम भट्टको स्मृतिमा मोती जयन्ती मनाउने गरिन्छ। 

१९२३ साल, भाद्र २५ गते कुशे औँसीका दिन पिता दयाराम भट्ट र माता रिपुमर्दिनी देवीको कोखबाट काठमाडौँको भोसिको टोलमा मोतीराम भट्टको जन्म भएको थियो ।

दरबार हाइस्कुलमा पढ्दा पढ्दै ६ वर्षको कलिलो उमेरमा भारत पुगेका भट्टले भारतको बनारसमा आफ्नो अध्ययनलाई निरन्तरता दिनुभयो। १५ वर्षको उमेरमा नेपाल फर्कनु भएका भट्टले आफ्नो छिमेकी खड्ग दत्त पाण्डेको बिहेमा भानुभक्त आचार्यले वाचन गर्नुभएको कबिता सुनेपछि भानुभक्तका कबिता र कृतिहरूको बारेमा खोज अनुसन्धान सुरु गरेर त्यसलाई जनमानसमा उजागर गर्ने  प्रयास गर्नुभएको थियो।नेपाली साहित्यमा भानुभक्तलाई चिनाउनुमा उहाँको ठुलो योगदान रहेको छ।  

उहाँले  ”कवि भानुभक्तको जीवन चरित्र” भानुभक्त आचार्यको जीवनी लेख्नुभयो, जसले आचार्यलाई नेपाली भाषाको प्रथम कवि (आदि कवि)को रूपमा स्थापित गर्नमा महत्वपूर्ण भूमिका खेलेको थियो। नेपालको राष्ट्रिय विभूति मानिएका भट्टलाई युवा कविको उपाधि समेत दिइएको थियो।  नेपाली साहित्यको १९४० देखि १९४८ सम्मको अवधिलाई मोतीराम युग भनेर पनि भन्ने गरिन्छ। 

भट्टलाई नेपाली साहित्य क्षेत्रमा कवि, गायक, निबन्धकार र प्रकाशकको रुपमा चिनिन्छ। उहाँलाई नेपाली साहित्यको पहिलो जीवनीकार र साहित्यिक समीक्षक पनि मानिन्छ। उहाँलाई नेपालको पहिलो गजलकार पनि मानिन्छ। 

यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन् ।

उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् ।।

गायकीको हिसाबले यो गज़ल नै नेपालको पहिलो गजल मानिन्छ।  तर वाचनका हिसाबमा कहिँ कतै यो गजललाई पनि पहिलो भनेर भन्ने गरेको पाइन्छ। 

दुई आँखी भौं त तयार छन् तरबार पो किन चाहियो

तिमि आँफै मालिक भै गयौ सरकार पो किन चाहियो।।

बहुभाषिक भट्ट नेपालीका साथसाथै संस्कृत, फारसी, अंग्रेजी,बंगाली, उर्दू र नेपाल भाषामा पनि निपुण हुनुहुन्थ्यो। भानुभक्तको जीवन चरित्र,शकुन्तला, प्रियःदर्शिका,मनोवेग प्रवाह, गजेन्द्र मोक्ष, प्रह्लाद भक्ति कथा लगायत उहाँका करिब २ दर्जन कृतिहरु प्रकाशित छन्। 

१५ वर्षको उमेरमा नेपालमा आएर विवाह गरेको १ बर्षपछि उच्च शिक्षाको लागि भट्ट पुन: बनारस फर्किनुभयो। उहाँले भारतमै रहेर पनि गोर्खा भारत जीवन नामक नेपाली पत्रिकाको प्रकाशन गर्नु भएको थियो। त्योबिचमा, भट्ट पटक-पटक नेपाल आउने जाने गरिरहनुहुन्थ्यो। १९५२ मा भारत जाँदा बिरामी भएपछी नेपाल फर्कनुभएका भट्टको एक वर्षपछि १९५३ मा निधन भएको थियो। उहाँको अन्तिम संस्कार पशुपतिको आर्यघाटमा गरिएको थियो। 

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५