भीरबाट खसेका बाबुरामलाई माओवादीको काँध

  • नेपाल राष्ट्रिय दैनिक
  • ३० श्रावण २०७९, सोमबार ०५:२४
298772750 430034245746781 9163899398840478990 n 1

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आइतबार खुमलटारमा भएको लामो छलफलपछि नेता भट्टराई पुन: एकपटक आलोचित बन्न पुगेका छन्। यतिबेला नेता भट्टराईको आलोचना गर्नेहरुले सामाजिक सञ्जाल भरिएको छ। तत्कालिन समयमा माओवादी पार्टी छोड्दा उनले दिएका अभिव्यक्तिहरुको भिडियोले सामाजिक सञ्जाल तताएको छ।आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न र एउटै घोषणापत्रमा सहमति गरेर चुनाव लड्ने कुरा बाहिरिएपछि राजनीतिमा देखिएको भट्टराईको सैद्धान्तिक र वैचारिक विचलन छताछुल्ल भएको छ। 

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर अन्तिम पटक माओवादी पार्टीबाट चुनाव लडेका बाबुराम भट्टराई झण्डै एक दशकपछि पुन माओवादीकै गोलाकार भित्रको हँसिया हथौडा चिन्ह लिएर आगामी निर्वाचनमा जाने परिदृश्य खडा भएको छ। भत्किएर चुहिएको घरमा फर्केर जाने होइन, नयाँ घर बनाउने हो भनेर नयाँ शक्ति पार्टी खोलेर राजनीतिमा अगाडी बढेका भट्टराई फेरी त्यहि पुरानो भत्किएको र चुहिएको घर अगाडी झोली बोकेर उभिएका छन्। 

माओवादीको राजनीतिक औचित्य सकिएको दाबी गरेका भट्टराईले नयाँ शक्ति पार्टीको स्थापनापछि पनि २०७४ को निर्वाचनमा गोरखाबाट नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनाव जितेका थिए। त्यसपछि नयाँ शक्ति पार्टीलाई नै मधेसवादी दलहरुसंग विलय गराएर उनले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा क्रमिक रुपमा अशोक राई, उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुरहरुसंग एकीकृत हुँदै जसपाको निर्माण गरे। अन्त्यमा आएर करिब एक महिना अघि मात्र उनले जसपाबाट पनि अलग्गिएर नेपाल समाजवादी पार्टीको स्थापना गरे।

हुन त राजनीतिमा आज असम्भव भनिएको कुरा नै भोलिको दिनमा सम्भव हुन्छ भनिन्छ। तर,  शान्ति प्रक्रियामा आइसकेपछि पनि प्रचण्डले जनमुक्ति सेनाले प्रयोग गर्ने द्वन्दकालको हतियार  विदेशी खुफिया एजेन्सीलाई बेचेर करोडौँ रुपैयाँ कुम्ल्याउन खोजेको, जनमुक्ति सेनालाई दिएको अर्बौं रुपैयाँ अपचलन गरेको र बाहिर-बाहिर राष्ट्रियताको कुरा गरेर  भित्र-भित्रै विदेशी प्रभुको शरण परेको आरोप लगाएर माओवादी पार्टीबाट बाहिरिएका भट्टराई, कुनैबेला आफ़ुलेनै देशद्रोही र गद्दारको आरोप लगाएको प्रचण्डको खुमलटार दरबारमा शरण पर्न जानु र पटक- पटक आफैंले औँला उठाउँदै र विरोध गर्दै आएको माओवादीको त्यहि पुरानो  वैचारिक धारमा टेकेर  गोलाकार भित्रको हँसिया हथौडा लिएर  चुनाव लड्ने सहमति जनाउनुले आजको दिनमा उनको विक्षिप्त राजनीतिक मानसिकतालाई भने प्रष्ट पारेको छ। 

भीरबाट खस्न लागेका बाबुराम

माओवादी पार्टीबाट अलग भएपछी पनि बाबुराम भट्टराईले २०७४ को निर्वाचनमा गोरखाबाट नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनाव जितेका थिए। चुनाव जितेको महिना दिन नबित्दै काँग्रेसको अस्तित्व सकियो अब रुखलाई जरै देखि उखेलेर फ्याँक्नुपर्छ भन्ने अभिव्यक्ति दिएका भट्टराई अन्त्यमा जसपाबाट काँग्रेसले नै नेतृत्व गरेको गठबन्धन सरकारमा सामेल भए।  तर जसपाबाट अलग्गिएपछि गठबन्धनबाट  स्वतः बाहिरिएका भट्टराईले  आगामी निर्वाचनमा आफ्नो सिट सुरक्षीत गर्न शेरबहादुर देउवासंग गठबन्धनमा नै रहने गरि छलफल अगाडी बढाए।  तर गठबन्धनमा काँग्रेसले चुनावि सहयोग नगर्ने संकेत पाएका भट्टराई अन्तत पुन: माओवादीकै शरणमा पुगेका छन्। २०७४ को चुनावमा गोरखा–२ बाट उम्मेदवार बनेका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई  ६८७४ मतको फराकिलो अन्तरले पराजित गरेका तत्कालिन नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई आगामी निर्वाचनमा अन्य कुनै राजनीतिक दलको समर्थन बिना चुनाव जित्नु भनेको विल्कुलै असम्भव बनेको छ।  बदलिँदो राजनीतिको यो परिवेशमा अब बाबुराम भट्टराईलाई आफ्नो राजनीतिक अस्तित्व जोगाउन पनि हम्मे- हम्मे परेको छ।  राजनीतिक अस्तित्व जोगाउनकै निम्ति भनेपनि अब उनलाई प्रचण्डको फेर समातेर संसद भवन छिर्ने बाहेक अन्य कुनै विकल्प छैन। मधेशवादी दलको ढोका सदाका लागि बन्द गरेर निस्किएका बाबुराम भट्टराईको अगाडि अब मात्र दुई वटा विकल्प छ। पहिलो भनेको  काँग्रेस,एमाले वा माओवादी पार्टीमा  प्रवेश गर्नु र दोस्रो विकल्प भनेको प्रचण्डलाई रिझाएर  गठबन्धनको फेर समातेर हिंड्नु । यी दुई विकल्प बिना बाबुराम भट्टराईको संसदीय राजनीति सदाको लागि अन्त्य हुने निश्चित छ ।

भट्टराईले जनतालाई बेवकुफ बनाए !

द्वन्दकालमा लामो समय सँगै सहयात्रा गरेर छुट्टिएका प्रचण्ड र बाबुराम राजनीतक स्वार्थको लागि पुन: एक आपसमा मिल्नुलाई नेपालको राजनीतिमा कुनै ठुलो संयोग र आश्चार्य मान्नुपर्दैन। तर हिजो पार्टीभित्रको जुन विचार र सिद्धान्त खराब भयो भनेर आलोचना गर्दै पार्टीबाट नै बाहिरीए, आज आएर एक्कासी त्यहि विचार बोकेको पार्टीको घोषणापत्र च्यापेर हिंड्दै गर्दा माओवादी सुध्रिएको हो कि बाबुराम भट्टराई बिग्रिएका हुन् ,यसको जवाफ उनले जनतालाई दिनुपर्छ। जङ्गलबाट मुलधारको राजनीतिमा आइसकेपछि पनि, हिजो देश र जनताको लागि माओवादीले अङ्गीकार गरेका नीति र विचारहरु ठिक छैनन् भनेर देश र जनताको निम्ति नयाँ शक्तिको निर्माणमा निस्किएका बाबुराम भट्टराई फेरी कुन नैतिकताले त्यहि पुरानै वाद र सिद्धान्तको झोला बोकेर जनताको घर दैलोमा भोट माग्न जाने ? जनतालाई माओवादीको विचारधारा ठिक भएन भनेर वर्षै पिच्छे नयाँ-नयाँ पार्टीको नुहारन गरेर हिंड्ने अनि अहिले आएर राजनीतिप्रतिको आम नागरिकको आस्था र विश्वाशमा खेलबाड गर्ने  ? यो बीचमा माओवादीको विचार र सिद्धान्त फेरिएको हो कि बाबुराम भट्टराई फेरिएका हुन्, यसको जवाफ जनतालाई दिनुपर्छ। होइन भने विचार र सिद्धान्तबाट नै स्खलित भएर आफ्नो स्वार्थको निम्ति इमान बन्दकी राख्दै देश र जनताको विश्वाश  लिलाम गर्न निस्किएका भट्टराईहरुलाई जनताले बहिष्कार किन नगर्ने ? बाबुराम भट्टराईले भन्ने गरेको माओवादीको नीति र विचार साँच्चिकै देश र जनताको लागि बेठिक थियो कि भट्टराई स्वयंको लागि बेठिक थियो अब जनताले जवाफ खोज्नुपर्ने बेला आएको छ।

प्रचण्डले राम-राम भन्लान् कि काँध थाप्लान्  ?

बुलेटदेखि ब्यालेटसम्मको लामो संघर्षपूर्ण यात्रा तय गरेर २०६४ को निर्वाचनमा सबैभन्दा ठुलो पार्टी बनेर नेपालको राजनीतिमा उदाएको नेकपा माओवादी २०७४ को निर्वाचनसम्म आइपुग्दा विभिन्न टुक्रामा विभाजित हुनपुग्यो। पार्टीकै शिर्ष नेता मानिएका मोहन वैध,विप्लव,बाबुराम र बादलहरु विस्तारै पार्टीबाट अलग हुँदै गए। पार्टीभित्रको एकतन्त्रीय शासन, सत्ता मोह र परिवारवादको आरोप खेप्दै आएका प्रचण्डलाई पछिल्लो समय पार्टीको अस्तित्व जोगाइराख्न पनि अन्य राजनीतिक दलको फेर समातेर हिंड्नु परेको छ। यो अवस्थामा हिजो लामो समय सँगै सहयात्रा गरेका बाबुराम भट्टराई पुन: पार्टीमा आए भने यो एक हिसाबले माओवादीको लागि राजनीतिक रुपमा र वैचारिक रुपमा पनि ठुलो जित हुनेछ। यसले पार्टीबाट निराश भएर अलग्गिएको आम कार्यकर्ताको एउटा ठुलो पंक्ति फेरी पार्टीमा फर्केर आउने वातावरण निर्माण गर्न सहज भूमिका खेल्नेछ।  तर द्वन्दकालमा लामो समय संगै विताएका प्रचण्ड र बाबुराम दुवैलाई एक अर्काको कम्जोरी र नराम्रो बानि राम्रोसंग थाहा छ। द्वन्दकालमै बाबुराम भट्टराईमाथि भएको पार्टीको आन्तरिक कारवाहीको कुरादेखि, अलग्गिएर नयाँ शक्ति स्थापनाको कुरासम्म आइपुग्दा देखिएका अन्तरविरोधले अझै पनि कता कता दुवै जना एक-अर्काप्रति शसंकित हुने परिवेशको अन्त्य भने भएको छैन। त्यसमाथी पनि बाबुराम भट्टराईलाई संगै लैजान हुँदैन भन्ने माओवादी केन्द्र भित्रको एउटा तप्का अझै पनि छ, जसले बाबुराम भट्टराईलाई माओवादीमा फर्किनबाट रोक्न सक्छ।  अब यी तमाम घटनाक्रमहरुबीच प्रचण्डले बाबुरामलाई अप्ठेरो परेको बेला जे भएपनि पुरानो सहकर्मी हो भनेर काँध थाप्छन् या पार्टीभित्रै अन्तरविरोधको सिर्जनाले फेरी एक्लो हुने र भएको पार्टी पनि टुक्रिने डरले राम-राम मात्र भनेर बस्छन् त्यो भने हेर्न बाँकी नै छ।   

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५