स्थानिय निर्वाचन: चार दिनकी चाँदनी फिर अँधेरी रात

  • नेपाल राष्ट्रिय दैनिक
  • २९ बैशाख २०७९, बिहीबार ०५:००
voting

स्थानीय तह निर्वाचनका लागि अब एक  दिन मात्र बाँकी रहँदा, अहिले गाउँ, टोल, चोक, चौतारा, चिया पसल, पान पसल लगायत हरेक भेलाहरूमा चुनावी चर्चा हुन स्वाभाविकै हो  ।स्थानिय तहको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू आकर्षक नारा सहित  घोषणापत्र तयार गरेर भोट बटुल्न घर-घर पुगे। उम्मेद्वारहरु कहिल्यै पाइला नराखेको विकट ठाउँमा पुगे।  कहिले नदेखेको र नचिनेको मान्छेलाई समेत दुई हात जोडेर नमस्कार गरे।  कतिले त खुट्टामा पैसा राखिएदिएर मतदाताको खुट्टा नै ढोगेको दृश्य समेत देखियो। 

संविधानले सार्वभौमसत्ता सम्पन्न गराएको नागरिकले हरेक निर्वाचनमा भोटमार्फत आफ्नो सार्वभौमसत्ता आफुले चुनेर पठाएको प्रतिनिधिलाई हस्तान्तरण गर्छ । दलहरुले  आफ्नो घोषणापत्रमा राखेको विचार, समकालीन राजनीतिप्रतिको दृष्टिकोण, विकासबारेका बुझाइ र सामाजिक रूपान्तरणको कार्यक्रम हेरेर जनताले पार्टी र प्रतिनिधिले गरेको कामको मुल्याङ्कनको आधारमा आफ्नो प्रतिनिधि चुन्छन्।तर अघिल्लो निर्वाचनमा घोषणापत्रमा देखाइएको सपना र योजना पुरा नहुँदै यो पटक दलहरु फेरी अर्को घोषणापत्र लिएर आएका छन्।  त्यसमा पनि अधिकांश योजानाहरु पुरानै घोषणापत्रको हुबहु नक्कल देखिन्छ।  यो अवस्थामा फेरी पनि उनीहरुलाई विश्वास गर्ने आधार के ? के अब जनताले तिमीहरुले काम गरेनौ यसपाली म तिमिहरुलाई भोट दिन्न, तिमीहरु योग्य छैनौ भनेर भन्न नपाउने हो ? खाए खा नखाए घिचको शैलीमा निर्वाचन आयोगले नो भोट अर्थात राइट टु रिजेक्टको व्यवस्था नगर्नु र दलहरुले पनि त्यसमा सहमति जनाउन नसक्नुले जनताप्रतिको उनीहरुको इमान्दारितामाथि नै प्रश्न चिन्ह खडा गरेको छ। 

शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकासमा पछि रहेका विकट क्षेत्रका बासिन्दालाई सबै सेवा निःशुल्क प्रदान गर्ने जस्ता अनेकौँ सपना देखाएर आश्वासनका पोका बाँड्दै उम्मेदवारहरु  घरदैलोमा पुगे। काठमाडौँ र भरतपुर जस्ता सहरी क्षेत्रका उम्मेदवारहरुले भने यस पटक स्मार्ट सिटीको अवाधारणालाई राम्रै मार्केटिङ्ग गरेर भोट माग्दै हिंडे।  काठमाडौँ र भरतपुर नेपालका तिनै दुई मुख्य शहरहरु हुन् जहाँ हरेक चोक चोकमा हप्तौं देखि महानगरले नदेखेको फोहोरको थुप्रो हामिले आज पनि देख्न सक्छौं र यी तिनै शहर हुन् जहाँ १५ मिनेट पानि पर्यो भने पक्कि सडकहरु क्षण भरमै पोखरी बनिदिन्छ।  हरेक ट्राफिक सिग्नलहरुमा दुई छाक खानकै  निम्ति माग्दै हिंड्नेहरु पनि उत्तिकै देखिन्छन्।  हुन त कालो सिसा भएको  चिल्ला गाडीहरुमा अगाडी पछाडी प्रहरी र सेनाको जन्ती लिएर हिंड्दा ति कुराहरु नदेखिनु स्वाभाविकै मान्छु म।किनकि देखेर पनि नदेखे जस्तो गर्ने अनि बुझेर पनि बुझ पचाए जस्तो गर्नेलाई के नै गर्न सकिन्छ र ! नत्र त जनताका प्रतिनिधि भन्नेहरुनै बिरामी बोकेको एम्बुलेन्सलाई रोकेर एस्कर्टिंग सहित साइरन बजाउंदै घुम्ने आँट त किन गर्थे होलान र ?

हो, मुलुकमा विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनमा विभिन्न दलका शिर्ष नेताहरूले निभाएको भूमिका सराहनीय छ। तर यसो भन्दैमा, उनीहरुलाई सँधै दलीय संरचना र सत्ता नेतृत्वमा रहनुपर्छ भनेर जनतालाई भोट बैंकको रुपमा मात्र हेरिनु किमार्थ सह्य हुनेछैन। बनमाराको झारझैं मौलाइरहेको परिवारवाद र व्यक्तिगत स्वार्थको राजनीतिबाट यदि दल र तिनका शिर्ष नेताहरु बाहिर ननिस्कने हो भने फेरी पनि उनीहरुलाई भोट दिएर जिताउनुको अर्थ के  ? के हाम्रो अमुल्य भोट र हाम्रो भूमिका  नेता र तिनका सन्तानलाई पदमा पुर्याउनु मात्र हो र ? सत्ता र शक्तिको बलमा परिवारवादनै स्थापित गराउने हो भने राजतन्त्र र गणतन्त्रमा भिन्नता के ? एउटा राजा हटाएर हजारौं छोटे राजाहरुलाई ज्यु हजुर गर्नुपर्ने तथाकथित नयाँ नेपालको अस्तित्व के ? देश र जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्न नसक्नेलाई भोट गरेर जिताउनुको औचित्य के ?

 निर्वाचन आयोगले तय गरेको निर्वाचन आचारसंहिता नै उल्लंघन गरेर चुनावी प्रचारमा  हिंडेका नेताहरुले कस्तो परिवर्तन गर्लान ? चुनावको आचारसंहिता पालन गर्न नसक्नेले देशको नियम कानुनको पालना गरेर देश समृद्ध बनाउँछन्  भनेर पत्याएर बस्नु पनि हाम्रो कमजोरी होइन र ? चुनावकै नाममा बढेको हिंशाको शृंखला हेर्दा भोट हाल्न जान पनि डर मान्नुपर्ने स्थिति सिर्जना भएको छ। चुनावको नाममा आफ्नै गाउँ छिमेकको दाजुभाई लडाएर हामीले कस्तो समाजको परिकल्पना गरिरहेका छौं ? के अब हामी नेपालीले अब कुनै अमुक राजनीतिक दल भन्दा माथि उठेर देश र जनताको निम्ति सोच्ने बेला आएन र ? प्रजातन्त्र प्राप्ति पछिको यतिका बर्ष दलको झण्डा मुनि बसेर म फलानो पार्टी र त ढिस्कानो पार्टीको भन्दै गर्दा हामीले के पायौं अनि के गुमायौँ ,अब त हिसाब खोज्ने बेला भएन र ?  सँधै ति नेताहरुलाई भोट हालेर कुनै अमुक पार्टीको कार्यकर्ता मात्र भएर बस्ने  कि अब हामी नेपाली पनि हुने ?

निर्वाचनको समय दलीय राजनीतिमा देखिएको यस प्रकारको अस्वाभाविक परिदृश्यले आम जनतामा नकारात्मक सन्देश प्रवाह गरिरहेको छ । नेताहरुलाई जे-जसरी भए पनि चुनाव जित्नैपर्ने बाध्यता के का लागि भन्ने प्रश्न गर्न अब जनता तयार हुनुपर्ने भएको छ। जनताले सत्ता परिवर्तन मात्र होइन, सत्तासीन हुन चाहनेहरूको सोचमा पनि परिवर्तन गर्न सक्नुपर्छ । मुलुकको राजनीति कसैको पारिवारिक विरासत थाम्ने माध्यम वा कसैले पैसाले खरिद गर्न सक्ने साधन बन्दै गएको कुरालाई हेक्का राखेर मतदान गर्नुपर्ने बेला आएको छ। तपाइँ हाम्रो एक भोटले यो देश र जनताको भविष्य निर्धारण गर्नेछ।  चुनावमा पाएको पैसा र आश्वाशनको पछि लागेर भोट गर्दै गर्दा अर्को पाँच बर्षको समय फेरी यसरीनै दुखले बित्न सक्छ।  अहिले पाएको २-४ हजार भोट र फ्री को मासु भातले बाँकी जिन्दगीको छाक जुटाउन धौ-धौ नहोस।  वैशाख ३० गतेको स्थानिय निर्वाचन चार दिनकी चाँदनी फिर अँधेरी रात नहोस। 

raj
राज अर्याल
Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५