चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको पहिरो पन्छाउने काम तीव्र पारिएको छ। सडक दुईतर्फी सञ्चालनमा ल्याउने उद्देश्यसहित दुवैतर्फबाट उपकरण परिचालन गरी काम भइरहेको छ।
नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार मुग्लिनतर्फबाट सडक डिभिजन कार्यालय भरतपुरको लोडर परिचालन गरिएको छ। त्यसैगरी, काठमाडौँतर्फबाट दुईवटा एक्साभेटर, एउटा जेसीबी र एउटा लोडर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ।सडक केही सफा भएपछि काठमाडौँतर्फबाट एउटा एक्साभेटर मुग्लिनतर्फ पठाएर पहिरो पन्छाउने काम गरिने अधिकारीले बताइन्।
थप पहिरो नखसेमा दिउँसो १ बजेसम्म सडक सञ्चालनमा ल्याउने तयारी रहेको उनले जानकारी दिइन्। उक्त स्थानमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले पहिरो पन्छाउन ढिलाइ भइरहेको उनको भनाइ छ।
यसअघि राति १ बजे खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो। तर, पुनः बिहान ५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। मुग्लिनतर्फ पहिरो पन्छाउन आवश्यक उपकरण उपलब्ध नभएपछि भरतपुरबाट उपकरण ल्याएर काम सुरु गरिएको अधिकारीले बताइन्।पहिरो खसेको स्थान मुग्लिनबाट करिब तीन किलोमिटर मलेखुतर्फ पर्दछ। सोही स्थानमा आइतबार पनि सुक्खा पहिरो खस्दा दिनको समयमा केही बेर सडक अवरुद्ध भएको थियो।
सडक अवरुद्ध भएपछि तिहार मनाउन घर फर्किँदै गरेका यात्रु बोकेका सवारीसाधन बाटोमै रोकिएका छन्।
घोप्टेभिरको पहिरो पन्छाउन दुवैतर्फबाट उपकरण परिचालन, दिउँसो १ बजेसम्म सडक खुलाउने तयारी
घोप्टेभिरको पहिरो पन्छाउन दुवैतर्फबाट उपकरण परिचालन, दिउँसो १ बजेसम्म सडक खुलाउने तयारी
२०८३
प्रतिक्रिया