+
Search

ताजा अपडेट +

पपुलर +

डोल्पा कारागारबाट फरार ८ मध्ये ६ कैदी पक्राउ

डोल्पा कारागारबाट फरार ८ मध्ये ६ कैदी पक्राउ

२०८३ कार्तिक २३, सोमबार

कर्णाली– जिल्ला कारागार डोल्पाबाट फरार भएका आठ कैदीबन्दीमध्ये प्रहरीले हालसम्म छ जनालाई पक्राउ गरेको छ । आइतबार थप दुई जना पक्राउ परेसँगै पक्राउ पर्ने कैदीबन्दीको सङ्ख्या छ पुगेको हो ।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पाका हरिबहादुर बुढा र जाजरकोटका यज्ञ विक रहेका छन् ।

उनीहरूलाई डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ रङगाउँभन्दा माथिको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवै जना जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् ।

यसअघि कात्तिक १८ गते प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङगाउँमा कमला बुढाको घरमा लुकीछिपी बसेको अवस्थामा कालीप्रसाद रोकाय र जाजरकोटका कपिल परियारलाई पक्राउ गरेको थियो ।

त्यसैगरी, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार कात्तिक १७ गते रुकुमपश्चिमका रामबहादुर विक र सल्यानका रेशम राना पक्राउ परेका थिए ।

कारागारबाट फरार भएका बाँकी दुई कैदीबन्दीको खोजी तथा पक्राउका लागि प्रहरीले खोजी कार्य जारी राखेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा