काभ्रेपलाञ्चोक – बाढीबाट प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुका साथै उद्योगबाट निस्किएको फोहोरजन्य सामग्रीको उचित व्यवस्थापन नगरेसम्म बेथानचोक गाउँपालिका–४ मा सञ्चालित चलाल गणेशस्थान रोडा ढुङ्गा उद्योगको खानी सञ्चालन गर्न नपाइने भएको छ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कात्तिक १८ गते बसेको बैठकले खानी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
बेथानचोक गाउँपालिकाले तयार पारेको स्थलगत छानबिन प्रतिवेदन र प्रभावित क्षेत्रका स्थानीयवासीसँगको छलफलका आधारमा यस्तो निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।अध्यक्ष अधिकारीका अनुसार समितिले प्रभावित परिवारलाई गाउँपालिकाले निर्धारण गरेअनुसार क्षतिपूर्ति उपलब्ध गराउन र उद्योगबाट निस्किएको ढुङ्गा तथा अन्य फोहोरजन्य सामग्रीको उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ। यी दुवै काम पूरा नभएसम्म खानी सञ्चालन गर्न नपाइने उनले बताए।
गाउँपालिकाबाट पुनः अनुमति नलिई उद्योग सञ्चालन गरेमा बन्द गराई कानुनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई समेत निर्देशन दिइएको छ।समितिले खहरेखोलाको किनारमा सिमेन्टको पर्खाल निर्माण गर्ने वा जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विकल्पमा आवश्यक समन्वय गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
यसैबीच, गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३५ जनाको आधिकारिक विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रदेश मन्त्रालयमा पठाउने निर्णयसमेत बैठकले गरेको छ।
प्रतिक्रिया