+
Search

ताजा अपडेट +

पपुलर +

दीपावली र छठले पुर्ख्यौली सीप भएका समुदायलाई बन्यो आम्दानीको अवसर

दीपावली र छठले पुर्ख्यौली सीप भएका समुदायलाई बन्यो आम्दानीको अवसर

२०८३ कार्तिक २३, सोमबार

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा दीपावली र छठ पर्वको रौनक छाएको छ । कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावली पर्वसँगै छठको तयारीले महोत्तरीसहित मिथिला क्षेत्र पर्वमय बनेको हो ।
यी पर्व परम्परागत सीप भएका कुम्हाल, बिन र डोम समुदायका लागि आम्दानीको अवसरसमेत बनेका छन् । आर्थिक रूपमा पछाडि परेका यी समुदायका मानिस अहिले आफ्नो पुर्ख्यौली सीपबाट उत्पादित सामग्री बिक्री हुने आशामा उत्साहित छन् ।कुम्हाल समुदायले माटाका भाँडा बनाउने तथा बिन र डोम समुदायले बाँसका कप्टेरा र चोयाबाट छिटी, नाङ्लो, चाल्नो र कनसुपीलगायत सामग्री बनाउने गर्छन् । दीपावली र छठ दुवै पर्वमा माटाका नयाँ भाँडा तथा बाँसबाट बनेका सामग्री प्रयोग गर्ने परम्परा रहेकाले यस समयमा तिनको माग बढ्ने गरेको छ ।
केही दशकअघिसम्म माटाका गाग्री, छ्याँची, तौला र ढकनासहितका भाँडा दैनिक जीवनमै प्रयोग हुन्थे । त्यस्तै बाँसका चोया र कप्टेराबाट बनेका छिटी, नाङ्लो, चाल्नो र पङ्खालगायत सामग्री पनि घरायसी प्रयोजनमा प्रयोग गरिन्थे । तर पछिल्लो समय प्लास्टिकका सामानको प्रयोग बढ्दै गएपछि परम्परागत सीपबाट उत्पादित सामग्रीको बजार पर्वविशेषमा सीमित हुन थालेको छ ।भङ्गाहा–४ रामनगर बस्तीका केशवर मुखिया बिनका अनुसार पहिले वर्षभरि बिक्री हुने सामग्री अहिले मुख्यतः दीपावली र छठका बेला मात्र बढी खोजिन्छन् । पर्वका समयमा हुने बिक्रीले केही नगद आम्दानी हुनुका साथै पुर्ख्यौली सीपलाई निरन्तरता दिने अवसर पनि मिल्ने गरेको उनले बताए ।
बाँसका चोया र कप्टेराबाट सामग्री बनाउने भङ्गाहा–५ सिद्धपुर रेलस्टेसनटोलका प्रगास मरिक डोम पनि पर्वका बेला आफ्नो सीपले बजार पाउने आशामा सामग्री तयार पार्ने गर्छन् ।
त्यस्तै कुम्हाल समुदायका मानिस दीपावली र छठ नजिकिएसँगै माटाका दियौरी, अर्घौटो, घैँटो, छ्याँची, तौला र ढकनालगायत सामग्री बनाउन व्यस्त हुने गरेका छन् । औरही–४ श्रीपुर कविलासाका सुरेश पण्डित कुम्हालका अनुसार पर्वमा माटाका भाँडाको माग राम्रो हुने भएकाले अन्य काम छाडेर पनि उनीहरू सामग्री बनाउन जुट्ने गर्छन् ।उनले पर्वमा बिक्री भएका भाँडाबाट प्राप्त आम्दानीले केही महिनाको नगद खर्च चलाउन सहयोग पुग्ने बताए ।
दीपावली र छठलाई लक्षित गरी महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकाका विभिन्न बस्तीमा लाग्ने साप्ताहिक हटियामा माटाका भाँडा तथा बाँसका सामग्रीको छुट्टै बजार लाग्ने गरेको छ । पर्वका लागि नयाँ सामग्री नै प्रयोग गर्ने परम्पराका कारण यस समयमा यस्ता सामग्रीको माग बढ्ने गरेको स्थानीय बताउँछन् ।
दीपावलीका लागि माटाका भाँडा र बाँसका सामग्रीको बिक्री लक्ष्मीपूजाका दिन बढी हुने भए पनि भाइटीकासम्म बिक्री जारी रहने श्रमिकको भनाइ छ । दीपावली सकिएको दुई दिनपछि सुरु हुने छठ पर्वका लागि पनि यस्ता सामग्रीको माग रहने भङ्गाहा–५ भूचक्रपुरका आशलाल पण्डित कुम्हालले बताए ।ग्रामीण क्षेत्रमा पुरानो परम्परा कायमै रहे पनि सहरी क्षेत्रमा भने माटाका भाँडा र बाँसका सामग्री प्रयोग गर्ने चलन घट्दै गएको उनको भनाइ छ ।
लोहारपट्टी–४ पिपराढीका रामविलास पण्डित कुम्हालले प्लास्टिक र स्टिलका भाँडाको प्रयोग बढ्दै जाँदा आगामी वर्षमा आफ्नो पुर्ख्यौली सीपको बजार झन् खुम्चिन सक्ने चिन्ता व्यक्त गरे ।
गौशाला–१२ पडरियाकी अञ्जली मरिक डोमका अनुसार पुर्ख्यौली सीपबाट चाडपर्वमा केही आम्दानी भए पनि वर्षभरि परिवारको गुजारा चलाउन पर्याप्त हुँदैन । यही कारण उनका छोराछोरी अन्य पेसातर्फ लागेका छन् ।मिथिला संस्कृति र कलासँग गहिरो सम्बन्ध राख्ने माटो तथा बाँसका सामग्री निर्माण गर्ने परम्परा पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसक्दा यसको मौलिक पहिचान नै हराउने जोखिम बढेको पाका मैथिलहरूको चिन्ता छ ।

प्रतिक्रिया

लेखकको बारेमा