काठमाडौं । काठमाडौं उपत्यकामा मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने प्रवृत्तिमाथि ट्राफिक प्रहरीले निगरानी र कारबाही तीव्र बनाएको छ। यसैक्रममा नियमविपरीत साइलेन्सर तथा मोटरसाइकलका अन्य संरचनामा परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सञ्चालन गरेको विशेष अभियानका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिइएका हुन्। कम्पनीले निर्धारण गरेको मापदण्डविपरीत साइलेन्सर परिवर्तन गर्ने तथा सवारी साधनको मूल संरचनामा फेरबदल गरी ध्वनि प्रदूषण गराउने मोटरसाइकललाई अभियानको प्राथमिकतामा राखिएको कार्यालयले जनाएको छ।
नियन्त्रणमा लिइएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार कारबाही गरिनेछ। कारबाहीका क्रममा सम्बन्धित मोटरसाइकललाई कम्पनीले निर्धारण गरेको मूल स्वरूपमा फर्काउन लगाइनेछ। आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित सवारी धनीलाई मोटरसाइकल फिर्ता दिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दा ध्वनि प्रदूषण बढ्नुका साथै सर्वसाधारणको स्वास्थ्य र दैनिक जनजीवनमा समेत नकारात्मक असर पर्न सक्छ। विशेषगरी आवासीय क्षेत्र, व्यस्त सडक तथा सार्वजनिक स्थानमा यस्ता सवारी साधन सञ्चालन हुँदा सर्वसाधारणलाई असुविधा हुने गरेको छ।
सवारी साधनमा जडान गरिएको साइलेन्सरले इन्जिनबाट निस्कने आवाजलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले त्यसमा गैरकानुनी रूपमा परिवर्तन गर्दा आवाजको मात्रा बढ्न सक्छ। यसले वातावरणीय प्रदूषण बढाउनुका साथै सडक प्रयोगकर्ता र आसपासका बासिन्दालाई समेत असर पुर्याउन सक्छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेको निर्देशनमा विशेष अभियान सञ्चालन भइरहेको छ। कार्यालयले ध्वनि प्रदूषण नियन्त्रण गर्ने तथा नियमविपरीत स्वरूप परिवर्तन गरिएका सवारी साधनलाई निरुत्साहित गर्ने उद्देश्यले अभियानलाई निरन्तरता दिने जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारी धनी तथा चालकलाई कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार नै सवारी साधन सञ्चालन गर्न आग्रह गरेका छन्। उनले गैरकानुनी रूपमा साइलेन्सर तथा अन्य संरचनामा परिवर्तन नगर्न र सवारी साधनको मूल स्वरूप कायम राख्न अनुरोध गरेका छन्।
ट्राफिक प्रहरीले सवारी साधनलाई सुरक्षित र निर्धारित मापदण्डअनुसार सञ्चालन गर्न तथा ध्वनि प्रदूषण नियन्त्रणमा सहयोग पुर्याउन सबै सवारी धनी र चालकलाई आग्रह गरेको छ।
प्रतिक्रिया