तनहुँ — तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहसहितका प्रमुख संरचना निर्माणको काम ८० प्रतिशत पूरा भएको छ।
आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युत्गृह, सुरुङ तथा आवश्यक उपकरण जडानको काम तीव्र गतिमा अघि बढिरहेको छ। चीनको सिनो हाइड्रो कर्पोरेसनले निर्माण गरिरहेको यस प्याकेजमा भूमिगत संरचनाको उत्खनन कार्य सम्पन्न भइसकेको छ भने अधिकांश सिभिल संरचनाको निर्माणसमेत पूरा भएको छ।आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत विद्युत्गृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक तथा ड्राफ्टट्युब सुरुङ र पेनस्टकको ब्याकफिल कङ्क्रिटिङलगायत प्रमुख संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ। मुख्य सुरुङमा कङ्क्रिट लाइनिङ गर्ने काम पनि अन्तिम चरणमा रहेको उनले जानकारी दिए।
यसैगरी, विद्युत्गृहमा विद्युत् उत्पादनका लागि आवश्यक उपकरण जडान तथा परीक्षणको काम अघि बढाइएको छ। जेनेरेटर, टर्बाइन, सिसिटिभी र ट्रान्सफर्मरलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान भइरहेको आयोजना प्रमुख भण्डारीले बताए।आयोजनाअन्तर्गत वातावरणीय बहाव व्यवस्थापनका लागि आवश्यक संरचना तथा बाँध सञ्चालन भवन निर्माणको काम पनि जारी छ। सिभिल संरचना निर्माणसँगै उपकरण जडान र परीक्षणलाई समेत समानान्तर रूपमा अघि बढाइएको आयोजनाले जनाएको छ।
प्याकेज–२ अन्तर्गतका सबै संरचना निर्माण तथा उपकरण जडान सम्पन्न भएपछि आयोजनाको विद्युत् उत्पादन प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार हुनेछ। १४० मेगावाट विद्युत् उत्पादन क्षमता रहेको यस आयोजनालाई राष्ट्रिय विद्युत् प्रणालीमा महत्त्वपूर्ण योगदान पुर्याउने आयोजनाका रूपमा हेरिएको छ।
तनहुँ जलविद्युत् आयोजनाको प्रमुख संरचना निर्माण ८० प्रतिशत सम्पन्न
तनहुँ जलविद्युत् आयोजनाको प्रमुख संरचना निर्माण ८० प्रतिशत सम्पन्न
२०८३
प्रतिक्रिया